एसईईको नतिजा मङ्गलबार सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
546
Shares
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी पूरा गरेको छ। सरकारले तोकेको समयसीमाभित्रै नतिजा ल्याउन बोर्डले कामको गति तीव्र पारेको छ। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षार्थीहरूको प्राप्ताङ्क कम्प्युटरमा 'इन्ट्री' गर्ने र गल्ती रुजु गर्ने कार्य करिब सकिएको जानकारी दिँदै कुनै प्राविधिक समस्या नआए मङ्गलबार नतिजा सार्वजनिक गरिने बताए।
यसअघि परीक्षा सम्पन्न भएको करिब तीन महिनापछि मात्रै नतिजा आउने परम्परा रहे पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए। सोही अनुसार बोर्डले परीक्षा भएकै केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षण गराएर समयमै नतिजा तयारीको काम अघि बढाएको हो। यस वर्षको परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो, जसमा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा सहजै हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ। परीक्षार्थीहरूले नेपाल टेलिकमको १६०० नम्बरमा कल (IVR), एसएमएस वा युएसएसडीमार्फत आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, आधिकारिक वेबसाइटहरू www.see.gov.np, www.neb.gov.np र www.see.ntc.net.np मार्फत पनि विस्तृत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। विद्यार्थीले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आधिकारिक सर्टकोड प्रयोग गरी सिधै नतिजा थाहा पाउन सक्नेछन्।
यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थीले एसइई दिएका थिए। सरकारको नयाँ कार्ययोजना अनुसार परीक्षा सकिएको छोटो अवधिमै नतिजा आउन लागेकाले विद्यार्थी र अभिभावकहरू उत्साहित देखिएका छन्। मङ्गलबार नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र लिन र माथिल्लो तहको भर्ना प्रक्रियामा सहभागी हुन थप समय पाउने अपेक्षा गरिएको छ।