काठमाडौँ । चितवनका दुग्ध उत्पादक किसानहरूले दूध बिक्री गरेबापतको ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन सकेका छैनन्। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगहरूले लामो समयदेखि रकम नदिँदा किसानहरू ठुलो आर्थिक संकटमा परेका हुन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले संस्थानले गत पुस महिनादेखि र निजी उद्योगहरूले पछिल्लो तीन महिनादेखिको भुक्तानी रोकेको बताए। जिल्लाबाट दूध लैजाने उद्योगमध्ये जम्मा २५ प्रतिशतले मात्रै नियमित भुक्तानी गरिरहेको र बाँकीले आलटाल गर्दा ४० हजार किसान प्रत्यक्ष मारमा परेका छन्।
जिल्लामा हाल ११५ वटा सहकारीमार्फत दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन र बिक्री हुँदै आएको छ। नयाँ सरकार गठन भएपछि भुक्तानीको समस्या समाधान हुने आशामा रहेका किसानहरू अहिले पुनः निरास बन्न थालेका छन्। भुक्तानीमा देखिएको यही गम्भीर समस्या र बजारको सुनिश्चितता नभएपछि सङ्घले आफ्नो उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउन बजारीकरणको नयाँ रणनीति अपनाएको छ। यसै क्रममा सङ्घले भरतपुर महानगरपालिकाका तीन फरक स्थानमा 'डेरी मार्ट' सञ्चालनमा ल्याएको छ।
सङ्घले भरतपुरको दूरसञ्चार रोड, चितवन मेडिकल कलेज पछाडि र बेलचोकमा मार्टहरू खोलेर सेवा सुरु गरेको छ। रत्ननगरमा रहेको सङ्घको आफ्नै डेरी उद्योगबाट उत्पादित दूध, घ्यू, पनिर, नौनी, खुवा र मोही जस्ता दुग्धजन्य सामग्रीहरू यी मार्टमार्फत बिक्री वितरण भइरहेका छन्।
उधारो भुक्तानीको समस्या झेल्नुभन्दा आफ्नै च्यानलमार्फत वस्तुहरू बजारमा पठाउँदा किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। सङ्घले आफ्ना सदस्य किसानहरूको उत्पादनलाई खेर जान नदिन र उपभोक्तालाई शुद्ध दुग्धजन्य पदार्थ उपलब्ध गराउन यो कदम चालिएको जानकारी दिएको छ।