जनप्रतिनिधिद्वारा आपत्ति, असारसम्म मुख्य लेन पक्की गर्ने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
299
Shares
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म भइरहेको ६ लेन सडक विस्तारमा देखिएको ढिलासुस्तीप्रति स्थानीय जनप्रतिनिधिले गम्भीर चासो व्यक्त गरेका छन्। आइतबार बनेपामा आयोजित बागमती प्रदेशका सामाजिक विकासमन्त्री, प्रमुख जिल्ला अधिकारी र निर्माण व्यवसायीसहितको बैठकमा वर्षायामअघि नै सडकको अवस्था सुधार्न निर्देशन दिइएको छ।
बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको छलफलमा बनेपा क्षेत्रका सर्भिस लेन र सहायक सडकहरूलाई बिनाअवरोध सञ्चालन गर्ने सहमति भएको छ। बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले सडक अव्यवस्थित हुँदा दुर्घटना बढेको र दुई जनाको ज्यान जाँदा पनि आयोजना गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरे। उनले कुनै पनि हालतमा यात्रुलाई सास्ती दिन नहुने र मुख्य लेन पक्की गर्न नसकिए पनि सर्भिस ट्रयाक चुस्त राख्नुपर्ने बताए।
बैठकले बनेपाको पुण्यमाता र भैँसीपाटी खोला पुल निर्माणका कारण अवरुद्ध भएका सहायक मार्गहरू तत्काल पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। पुलबजार क्षेत्रमा हुने डुबान समस्या समाधानका लागि पुण्यमाता खोला गहिर्याउने र सफा गर्ने कार्य तुरुन्त अघि बढाउने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन्।
आयोजना प्रमुख विजय महतोले समग्र भौतिक प्रगति ७० प्रतिशत पुगेको र आगामी असार मसान्तसम्म मुख्य लेन पक्की गरिसक्ने लक्ष्य रहेको बताए। उनले कालोपत्रका लागि आवश्यक 'बिटुमिन'को अभावले केही महिना ढिलाइ भएको जानकारी दिए। १५.८ किलोमिटर लामो यो सडक विस्तार कार्य विगत दुई महिनादेखि सुस्त बनेको छ।
निर्माणको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि र अभावका कारण कामको गति पहिलेको तुलनामा सुस्त भएको बताए। तथ्याङ्कअनुसार साँगा–धुलिखेल खण्डको ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डको प्रगति ४८ प्रतिशत मात्रै रहेको छ। सूर्यविनायक–साँगा खण्डको म्याद गत पुसमा सकिएपछि अहिले एक वर्षका लागि थप गरिएको छ। अहिले साँगामा अन्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।