arrow

कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याउँदै प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
prachanda-27-01.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।

स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख गरे । उनले नेतृत्व तहबाट समय-समयमा एकताका प्रयास भए पनि ती प्रयासहरू दीर्घकालीन रूपमा सफल हुन नसकेको बताए ।

उनले भने, ‘हजारौँ र लाखौं कार्यकर्ताहरू पनि कम्युनिस्टहरूको बीचमा एकता होस् भन्ने पक्षमा छन् । ती प्रयासहरू पनि लिडरसिपको प्रयासबाट बेलामौकामा हुने पनि गरेका छन् । तर त्यो एकतालाई सुदृढ र दिगो बनाउनका वैचारिक बहस वा छलफल र निष्कर्ष आवश्यक छ। संगठनात्मक सिद्धान्त, नीति, विधिको विकासको काम भएको छैन् । परिणामतः ती एकताका प्रयासहरु विभिन्न रुपमा भएपनि ती दिगो र सफल हुन सकेनन् ।’

उनले वैचारिक बहस, छलफल र निष्कर्षमा पुग्ने प्रक्रिया तथा संगठनात्मक सिद्धान्त, नीति र विधिको विकास पर्याप्त रूपमा हुन नसक्दा एकता प्रयासहरू दिगो बन्न नसकेको बताए ।

प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्रका विगतका विभाजन र एकताका श्रृंखलाबाटै वर्तमान अवस्था बनेको उल्लेख गर्दै एकताको आवश्यकता भने अझै कायम रहेको स्पष्ट पारे । उनले कम्युनिस्ट आन्दोलनको एकता आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हुने बताए ।

उनले भने, ‘यो कुराले के कुरा निष्कर्ष निकाल्नु गलत हुन्छ भने कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने कुरा होइन । विभाजन र एकताका थुप्रै श्रृखलाहरू हुँदै जसरी कम्युनिस्ट आन्दोलन आजको विन्दुसम्म आएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ठूलाठूला विवाद र बहस विभाजन एवम एकताको श्रृखला हुँदै अगाडि बढेको छ । सच्चा कम्युनिष्टहरूको बीचमा एकताको आवश्यकता अहिले झन विशेष रुपले बढेको छ ।’

उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन पनि विभाजन र एकताको विभिन्न चरण हुँदै अघि बढेको स्मरण गराउँदै नेपालमा पनि सच्चा कम्युनिस्टहरूबीच एकता अझै बढी आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा उनले देशमा वैदेशिक पूँजी र साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढ्दै गएको दाबी गर्दै मुलुक राष्ट्रिय रूपमा चुनौतीपूर्ण अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले हालै सम्पन्न निर्वाचनलाई लक्षित गर्दै कम्युनिस्ट शक्तिहरूलाई कमजोर बनाउने रणनीति अन्तर्गत विभिन्न गतिविधि भएको आशंका व्यक्त गरे ।

उनका अनुसार ती घटनाहरू अझै पूर्ण रूपमा सतहमा नआएको र समयसँगै अनुसन्धान तथा अध्ययनमार्फत खुल्दै जानेछन् ।

‘अहिले देशमा जसरी वैदेशिक पूँजीपतिहरू, साम्राज्यवादीहरूको विभिन्न किसिमको हस्तक्षेप बढ्दै गएको छ । देश राष्ट्रिय रुपमा पनि निकै अप्ठ्यारो ठाउँमा आइपुगेको छ। भर्खरै सम्पन्न निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीति अन्तरगत जे जस्ता खेल भएका छन् ती सबै अझै सतहमा आएका छैनन् भन्ने भनाइ छ । समयकालसँगै के के भएका थिए पर्दाभित्र भन्ने कुरा आउँदै जाला, त्यसको अध्ययन हुँदै जाला, अनुसन्धान पनि हुँदै जाला ।’

प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट समाप्त पार्ने उद्देश्यसहित देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए ।

उनले यसलाई स्वीकार गर्न नसकिए श्रमजीवी वर्गप्रति अन्याय हुने दाबी गरे ।

उनले कम्युनिस्ट आन्दोलनभित्र आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै कमजोरी सच्याएर सम्पूर्ण आन्दोलनलाई एकताबद्ध गर्दै नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ