arrow

पर्दामा 'थलापति' को नामले चिनिने विजय तमिलनाडुको बागडोर सम्हाल्दै, आज मुख्यमन्त्रीको शपथ

सन् १९६७ पछि राज्यमा पहिलो पटक गैर-द्रविड दलको मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
Vijay Thalapathy’s.jpg

काठमाडौँ । तमिलागा वेत्री कडगम (टीभीके) का प्रमुख तथा चर्चित अभिनेता सी जोसेफ विजय आज तमिलनाडुको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुँदैछन्। 

उनले आज बिहान १० बजे चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा आयोजित भव्य समारोहमा राज्यको ९ औँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनेछन्।

विजयको यो ऐतिहासिक शपथ ग्रहण समारोहमा भारतीय कांग्रेसका नेता तथा सांसद राहुल गान्धी पनि सहभागी हुने कार्यक्रम रहेको छ। 

शनिबार विजयले राजभवन पुगेर राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरलाई आफ्नो पार्टी टीभीके सहित कांग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयूएमएल का गरी कुल १२१ विधायकहरूको समर्थन पत्र बुझाएका थिए। 

त्यसपछि राज्यपालले उनलाई सरकार गठनका लागि औपचारिक निमन्त्रणा दिएका हुन्।

विजयको दुई वर्ष पुरानो पार्टी टीभीकेले आफ्नो पहिलो विधानसभा चुनावमै उत्कृष्ट प्रदर्शन गर्दै २३४ सिटमध्ये १०८ सिट जितेर कीर्तिमान कायम गरेको छ। 

बहुमतका लागि ११८ सिट आवश्यक पर्नेमा सहयोगी दलहरूको साथपछि विजयसँग अहिले १२१ विधायकको समर्थन छ।

तमिलनाडुको राजनीतिमा यो एक ठुलो परिवर्तन हो। सन् १९६७ पछि अर्थात् करिब ६० वर्षपछि राज्यमा पहिलो पटक गैर-द्रविड दलको मुख्यमन्त्री बन्न लागेका हुन्। 

यसअघि सन् १९६३ देखि १९६७ सम्म कांग्रेसका एम. भक्तवत्सलम मुख्यमन्त्री थिए, त्यसपछि राज्यमा द्रविड मुन्नेत्र कडगम (डीएमके) र एआईडीएमके (एआईएडीएमके) को मात्रै वर्चस्व रहँदै आएको थियो।

सिनेमा पर्दामा 'थलापति' को नामले चिनिने विजय अब वास्तविक राजनीतिमा तमिलनाडुको बागडोर सम्हाल्न तयार भएका छन्। उनको यो यात्रालाई भारतीय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ