arrow

तेस्रो पटक पनि पुगेन बहुमत, तमिलनाडुमा विजयको सरकार गठनमा अन्योल

बहुमत जुटाउन नसक्दा आज हुने भनिएको शपथ ग्रहण कार्यक्रम रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
vijaya-thalapathy.jpg

काठमाडौँ । तमिलनाडुमा अभिनेता तथा तमिलगा वेत्री कडगम (टीभीके) पार्टीका प्रमुख विजय थलापतिको सरकार गठन प्रक्रियामा राजनीतिक सस्पेन्स अझै कायम रहेको छ। 

शुक्रबार राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरलाई भेटेर विजयले लगातार तेस्रो पटक सरकार बनाउने दाबी पेस गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा आज शनिबार हुने भनिएको शपथ ग्रहण कार्यक्रम रद्द भएको छ।

भारतीय सञ्चारमाध्यम 'इन्डियन एक्सप्रेस'का अनुसार विजयले राज्यपाललाई आफ्नो पार्टी टीभीके सहित कांग्रेस, सीपीके र सीपीके(एम) का गरी जम्मा ११६ विधायकहरूको समर्थन पत्र बुझाएका थिए। 

तमिलनाडुमा सरकार बनाउन ११८ विधायकको समर्थन आवश्यक पर्छ, जसका कारण विजयलाई अझै २ विधायकको साथ अपुग देखिएको छ।

गठबन्धनमा रहेका आईयूएमएल र भीसीके पार्टीसँग २–२ विधायक भए पनि उनीहरूले शुक्रबार अबेरसम्म औपचारिक समर्थन पत्र बुझाएका छैनन्। 

यसअघि मे ६ र ७ मा पनि विजयले सरकार गठनको दाबी गरेका थिए, तर राज्यपालले ११८ विधायकको स्पष्ट समर्थन विना नियुक्त गर्न नसकिने अडान राख्दै आएका छन्।

भीसीके का प्रमुख थिरुमावलवनले शुक्रबार बिहान सार्वजनिक रूपमै विजयलाई समर्थन गर्ने बताएका थिए। तर राज्यपालको कार्यालयमा औपचारिक पत्र नपुगेपछि विजयको मुख्यमन्त्री बन्ने योजनामा पुन: पूर्णविराम लागेको छ। 

राज्यपाल कार्यालयका स्रोतका अनुसार शुक्रबार साँझको बैठकसम्म विजयसँग मात्र ११६ विधायकको रेकर्ड उपलब्ध थियो।

यो राजनीतिक खिचातानीले तमिलनाडुको राजनीतिलाई थप रोचक मोडमा पुर्‍याएको छ। २ विधायकको समर्थन पत्र राजभवन नपुग्दासम्म विजयले सत्ताको बागडोर सम्हाल्न अझै प्रतीक्षा गर्नुपर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ