रास्वपा अलोकतान्त्रिक र तानाशाह बन्दै गयो, सरकार नाजीवादको घोडामा छ: सुदन किराँती
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
480
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच हर्कराज राई (साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै किराँतीले यस्तो बताएका हुन्।
किराँतीले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै राजनीतिक दलहरू ‘धार्मिक संस्था’ जस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गरे। मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र नेतृत्व बिचौलियाको घेराबन्दीमा फसेको उनको दाबी छ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल (नेकपा माओवादी केन्द्र) त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पारे। उनले पार्टीभित्र आफ्ना कुरा राख्न दुई मिनेटको समय समेत नदिइएको गुनासो गरे।
उनले भने, ‘सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ। तर सम्झिइराखोस्, नाजीवाद र फासीवाद इतिहासको चिहानमा पुरिइसकेको छ। मैले छोड्ने बेलामा दुई मिनेट बोल्छु भन्दा पनि पाइनँ, त्यस्तो स्थितिमा हामी थियौँ। पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन।’
किराँतीले अबको राजनीतिक बाटो ‘प्रकृति, संस्कृति र प्रविधि’ को समायोजन हुनुपर्नेमा जोड दिए। पुँजीको विकास नगरी देश समृद्ध नहुने उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टीले यही दर्शनलाई बोकेर अघि बढ्ने बताए।