arrow

'डोजर आतंक' विरुद्ध रित्तो थाल र चम्चासहित उत्रिए सुकुमवासी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
sukumbasi-chamcha-thaal.jpg

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डला फेरि एकपटक सुकुमवासीहरूको चर्को नाराबाजी र आक्रोशले गुञ्जायमान भएको छ। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेका सुकुमवासीहरूले आफ्नो हक र अधिकारको सुनिश्चितता माग गर्दै विशेष र्‍याली र विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले विशेषगरी काठमाडौं महानगरपालिका र सरकारले सुकुमवासी बस्तीहरूमा चलाएको डोजर अभियानलाई 'आतंक' को संज्ञा दिँदै त्यसको कडा विरोध गरेका छन्।

आफूहरूलाई भोकमरी र उठिबासको डर रहेको सङ्केत गर्न प्रदर्शनकारीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर सांकेतिक प्रदर्शन गरेका थिए। सुकुमवासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्य मानवीय संवेदना विरुद्ध भएको भन्दै उनीहरूले यस्तो कार्यको तीव्र भर्त्सना गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले 'समाजवादको नारा डोजरको साहारा', 'विकासको नाममा विस्थापन बन्द गर' र 'सुकुमवासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौ?' जस्ता प्रश्न र नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए।

यसैगरी, प्रदर्शनकारीहरूले काठमाडौं महानगरका प्रमुख बालेन शाह लक्षित नाराहरू लगाउँदै 'सुकुमवासी जनता सडकमा, बालेन चाहिँ महलमा' भन्दै आक्रोश व्यक्त गरे।

विकासको नाममा कुनै विकल्प र व्यवस्थापन विना नै बलपूर्वक बस्ती खाली गराउनु न्यायोचित नहुने उनीहरूको तर्क छ। हरेक अन्यायको हिसाब राख्ने चेतावनी दिँदै सुकुमवासीहरूले सरकारसँग आफ्नो जिउधनको रक्षा र स्थायी बसोबासको ग्यारेन्टी गर्न माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ