arrow

करुणालाई नेविसंघको कमाण्ड

तरुण दलको अध्यक्षमा मनिष कोइराला र महिला सङ्घमा मीना खरेललाई जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
karuna-katuwal-nsu.jpg

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका प्रमुख भ्रातृ संस्थाहरूको नेतृत्व चयन गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्यान्डेटअनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएकी छन् ।

उनीसँगै नेपाल तरुण दलको अध्यक्षमा काठमाडौँका मनिष कोइराला तथा नेपाल महिला सङ्घको अध्यक्षमा चितवनकी मीना खरेललाई जिम्मेवारी दिइएको छ । तीनै जनालाई सम्बन्धित सङ्गठनको महाधिवेशन सम्पन्न गराउने मुख्य कार्यादेशसहित नेतृत्वमा ल्याइएको हो ।

२०५७ सालमा जन्मिएकी करुणा कटुवाल कोसी प्रदेशको भूगोलबाट उदाएको कांग्रेसको युवा महिला नेतृत्वको नयाँ अनुहार हुन् ।

नेविसंघको लामो इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी कटुवालको उदयलाई केवल सङ्गठनात्मक नियुक्ति मात्रै नभई कांग्रेसभित्र महिला नेतृत्व विस्तार, पुस्तान्तरण र नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा समेत हेरिएको छ ।

कटुवाल किशोर अवस्थादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनले १४ वर्षको उमेरमा एसएलसी परीक्षा दिएपछि नेविसंघको राजनीतिमा सक्रिय रूपमा होमिइन् । त्यसयता उनी निरन्तर विद्यार्थी आन्दोलन, संगठन निर्माण र वैचारिक बहसमा सक्रिय रहँदै आएकी छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअघि नै उनले पार्टीको क्रियाशील सदस्यता लिएकी थिइन् । महाधिवेशन प्रतिनिधिसमेत बनेकी कटुवाल पछिल्लो समय कांग्रेसभित्र सभापति गगन थापा निकट नेतृका रूपमा चिनिँदै आएकी छन् ।

विशेष महाधिवेशनको पक्षमा खुलेर बहस गर्दै आएकी उनी वैचारिक रूपमा स्पष्ट र सङ्गठनात्मक रूपमा सक्रिय नेतृका रूपमा स्थापित भएकी छन् ।

शैक्षिक रूपमा पनि उनी अब्बल मानिन्छिन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर र कानुन विषयको अध्ययनसमेत गरिरहेकी छन् । राजनीति, शिक्षा, संवैधानिक अधिकार र विद्यार्थी आन्दोलनबारे उनको स्पष्ट धारणा देखिन्छ ।

पछिल्लो समय विद्यार्थी सङ्गठनहरू शैक्षिक मुद्दाबाट केही टाढिएको उनले स्वीकार गर्दै आएकी छन् । विभिन्न आन्दोलनका नाममा शैक्षिक संस्थाभित्र हुने उच्छृङ्खल गतिविधिका कारण विद्यार्थी राजनीतिप्रति नकारात्मक दृष्टिकोण बढेको यथार्थ रहेको उनको भनाइ छ । तर, यसै आधारमा सम्पूर्ण विद्यार्थी सङ्गठनलाई गलत साबित गर्ने भाष्य उचित नहुने उनी बताउँछिन् ।

केही दिनअघि सामाजिक सञ्जालमार्फत उनले नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सङ्गठित हुने तथा सङ्घ संस्था खोल्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै धारा १७ अन्तर्गतको “सङ्घ तथा सङ्गठन खोल्ने स्वतन्त्रता” लोकतन्त्रको आधारभूत अधिकार भएको धारणा सार्वजनिक गरेकी थिइन् । विश्वविद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई वैचारिक बहस, विमर्श र चेतना निर्माणको मञ्च भएको उनको तर्क छ ।

नेविसंघको इतिहास हेर्दा यस संगठनले नेपाली राजनीतिलाई प्रभावशाली नेतृत्व दिएको छ । संस्थापक अध्यक्ष विपिन कोइरालादेखि शुरू भएको यात्रामा शेरबहादुर देउवा, विमलेन्द्र निधि, एनपि साउद, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका नेताहरूले संगठनको नेतृत्व गरिसकेका छन् ।

पछिल्लो पटक दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।अब करुणा कटुवालमाथि नेविसंघलाई पुनः शैक्षिक मुद्दामुखी बनाउने, संगठनलाई वैधानिक संरचनामा लैजाने र महाधिवेशन सम्पन्न गराउने महत्त्वपूर्ण जिम्मेवारी आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ