काठमाडौँ । अमेरिका र इरानबीचको बढ्दो तनावका बीच हर्मुज जलमार्गमा जहाजहरूको आवागमन सुचारु गर्न शुरू गरिएको 'प्रोजेक्ट फ्रीडम' साउदी अरबको असहयोगका कारण बन्द गर्नुपरेको खुलासा भएको छ।
अमेरिकाले मे ४ मा यस मिसनको शुरूवात गरे पनि राष्ट्रपति ट्रम्पले एक दिनपछि नै यसलाई रोक्ने आदेश दिएका थिए। शुरूमा पाकिस्तानको आग्रहमा अपरेसन रोकिएको बताइए पनि एनबीसी न्युजका अनुसार साउदी अरबले अमेरिकी विमानहरूलाई आफ्नो हवाई क्षेत्र र एयरबेस प्रयोग गर्न अनुमति नदिएपछि यो कदम चाल्नुपरेको हो।
ट्रम्पले अचानक सामाजिक सञ्जालमार्फत मिसनको घोषणा गर्दा खाडीका सहयोगी राष्ट्रहरू चकित र रुष्ट बनेका थिए भने साउदी राजकुमार मोहम्मद बिन सलमानसँगको वार्तामा समेत सहमति हुन सकेन। अन्ततः दुई दिनमा मात्र तीनवटा जहाज पार गराएर अमेरिकाले यो अपरेसन रोक्नुपर्यो।
यसैबीच कूटनीतिक क्षेत्रमा भने अमेरिका र इरानबीच १४ बुँदे समझदारी पत्र तयार भएको र वार्ता निर्णायक चरणमा पुगेको सकारात्मक खबरहरू बाहिरिएका छन्। अमेरिकाले हर्मुज जलमार्गमा जहाज आवागमन सहज बनाउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा नयाँ प्रस्ताव समेत पेश गरेको छ जसलाई खारेज गर्न इरानले सदस्य राष्ट्रहरूसँग अपील गरिरहेको छ।
अर्कोतर्फ बेइजिङमा चीन र इरानका उच्च अधिकारीहरूबीच भएको बैठकमा चीनले इरानलाई समर्थनको आश्वासन दिँदै तत्काल युद्ध रोक्नुपर्नेमा जोड दिएको छ। इरानले ट्रम्पको चीन भ्रमणका क्रममा बेइजिङले अमेरिकी दबाबमा आएर आफ्नो हित विपरित कुनै निर्णय नलिने अपेक्षा राखेको छ।
सैन्य स्थितिका बारेमा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी कारबाहीबाट इरानको नौसेना, वायुसेना, मिसाइल प्रणाली र रडार नेटवर्कमा ठूलो क्षति पुगेको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको दाबी गरेका छन्। उनले यदि सम्झौता हुन नसके अमेरिकाले अझ घातक आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।
तनावपूर्ण वातावरणकै बीच होर्मुज क्षेत्रमा फ्रान्सेली शिपिङ कम्पनीको एक कार्गो जहाजमाथि मिसाइल वा ड्रोन आक्रमण भएको छ, जसमा केही चालक दलका सदस्यहरू घाइते भएका छन्।