मौसम पूर्वानुमानलाई सात दिन पुर्याइने, विभागमा मन्त्री
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
357
Shares
काठमाडौँ । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् । मन्त्री श्रेष्ठले विभागका प्राविधिक तथा अधिकारीहरूसँग आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, हवाई मौसम सेवा र बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विस्तृत छलफल गरे ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीन दिने पूर्वानुमान क्षमतालाई विस्तार गरेर सात दिनसम्म पुर्याउन मन्त्रालयले पहल गर्ने बताए । मनसुन सुरु हुने समय नजिकिँदै गएको सन्दर्भमा सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने गरी काम गर्न उनले निर्देशन दिए । विभागलाई मौसमको मुख्य अध्ययन केन्द्रका रूपमा विकास गरी त्यहाँबाट प्राप्त तथ्याङ्कबाट अन्य सरकारी निकाय र सेवा प्रदायकले लाभ उठाउनुपर्नेमा उनले जोड दिए ।
सीमित स्रोत साधनका बाबजुद निरन्तर खटिएका प्राविधिक र कर्मचारीहरूलाई धन्यवाद दिँदै मन्त्री श्रेष्ठले उनीहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागको वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे मन्त्रीलाई जानकारी गराएका थिए ।