आर्थिक गणनामा सहभागी हुन व्यावसायिक प्रतिष्ठानलाई आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
244
Shares
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मुलुकभरका सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थाहरूलाई गणना प्रक्रियामा समेट्न कार्यालयका आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गरे।
मुलुकको आर्थिक गतिविधिको यथार्थ चित्र प्रस्तुत गर्ने र आगामी आर्थिक नीति निर्माणमा ठोस आधार प्रदान गर्ने उद्देश्यले वैशाख २ गतेदेखि सुरु भएको यो गणना असार ७ गतेसम्म जारी रहनेछ। यस क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैङ्क, सहकारी तथा वित्तीय संस्थाहरूको विस्तृत तथ्याङ्क सङ्कलन भइरहेको छ।
यही वैशाख २२ गतेसम्म देशभर करिब ३२ प्रतिशत आर्थिक गणना सम्पन्न भएको छ भने व्यावसायिक रूपमा दर्ता भएका करिब चार लाख ८० हजार व्यापारिक संस्थाहरू हालसम्म यसमा समावेश भइसकेका छन्। विसं २०७५ मा पहिलोपटक गरिएको आर्थिक गणनाको यो दोस्रो संस्करण हो।
यस पटकको गणना कार्यका लागि देशभर तीन हजार ९०६ गणक र ५२६ सुपरिवेक्षक स्थलगत विवरण सङ्कलनमा खटिएका छन्। सात हजार ४५३ व्यावसायिक प्रतिष्ठानले आफ्नो विवरण आफैँ ‘अनलाइन’ मार्फत भर्ने प्रतिबद्धता जनाएका छन्, जसमध्ये एक हजार ६१५ प्रतिष्ठानले विवरण बुझाइसकेका छन्।
यो गणनालाई बढी भरपर्दो र व्यवस्थित बनाउन सबै प्रदेशमा प्रमुख सचिवको अध्यक्षतामा प्रदेश समन्वय समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरिएको छ। साथै स्थानीय वडा तहमा समेत समितिहरू क्रियाशील रहेका छन्। देशको वास्तविक आर्थिक अवस्था मापन गर्ने लक्ष्य राखिएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन गणकहरूलाई सही र पूर्ण विवरण उपलब्ध गराउन कार्यालयले सबैमा अनुरोध गरेको छ।