काठमाडौँमा सडक मानव व्यवस्थापन अभियान शुरू, दर्जनौँको उद्धार र पुनर्मिलन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
390
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर (होल्डिङ सेन्टर)’ सञ्चालनमा ल्याइएको छ। वडा नं. ८ स्थित तिलगंगामा वैशाख २२ गतेदेखि सञ्चालनमा आएको यो केन्द्र ‘सडक मानवमुक्त’ अभियानअन्तर्गत स्थापना गरिएको हो।
अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक आश्रित व्यक्तिहरूको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरबाट भागेका थिए। उद्धार गरिएकामध्ये आधाभन्दा बढीलाई सोही दिन साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरको स्थलगत निरीक्षण गर्दै उद्धार गरिएकाहरूको अवस्था, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिएकी छन्। उनले उद्धार गरिएकाहरूसँग कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुका कारणबारे चासो व्यक्त गरिन्।
उनले सडकमा रहेका असहाय व्यक्तिहरूको व्यवस्थापनमा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र आवश्यक परे मात्र आश्रममा राखिने स्पष्ट पारेकी छन्। महानगरले बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ।
महानगरका अनुसार स्क्रिनिङ सेन्टरले उद्धार गरिएका व्यक्तिहरूको अवस्था पहिचान गरी पारिवारिक, मानसिक स्वास्थ्य समस्या भएका, अशक्त तथा उपचार आवश्यक भएकाहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न सहयोग गर्नेछ।
पहिलो दिन उद्धार गरिएकामध्ये ६ जना महिला र २२ जना पुरुष रहेका छन्। उनीहरूको उमेर २५ देखि ७८ वर्षसम्म रहेको छ। उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका हुन्।
उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एक जना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते रहेका छन्। ह्विलचेयर र वैशाखी प्रयोग गर्नेहरूलाई पनि सेन्टरमा राखी उपचार र स्याहारको व्यवस्था गरिएको छ।
कार्यवाहक प्रमुख डंगोलले सडकमा कोही पनि नागरिक भोकै वा बेवारिसे अवस्थामा बस्न नपरोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएकी छन्।
उनले “जसको कोही छैन, उसको लागि सरकार छ” भन्ने अनुभूति दिलाउनु अभियानको मुख्य उद्देश्य भएको उल्लेख गरेकी छन्।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई थप व्यवस्थित र सुरक्षित बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महानगरले सडकमा अलपत्र परेका, बिरामी वा असहाय व्यक्तिहरू देखिएमा मानव सेवा आश्रमको सम्पर्क नम्बरमा जानकारी गराउन पनि अनुरोध गरेको छ।