सुशील कोइराला प्रधानमन्त्री भएको समयमा कांग्रेस नेतृत्वको सरकारले नै पहिलो पटक यस विषयमा कूटनीतिक नोट पठाएको स्मरण
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
1.6k
Shares
काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सम्बन्धमा भारत र चीनबीच भएको सहमतिप्रति नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको छ। सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सहमहामन्त्री उदय शमशेर राणाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको कुरामा पार्टीको संस्थागत अडान स्पष्ट रहेको जानकारी दिए।
नेपाल सरकारले हालै भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ। वि.सं. २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री भएको समयमा कांग्रेस नेतृत्वको सरकारले नै पहिलो पटक यस विषयमा कूटनीतिक नोट पठाएको स्मरण गर्दै सहमहामन्त्री राणाले सीमा विवादको समाधान कूटनीतिक संवादकै माध्यमबाट हुनुपर्नेमा जोड दिए।
त्यसैगरी, सरकारले हालै जारी गरेका अध्यादेशहरूको सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो। मुलुकमा सुशासन कायम गर्न आवश्यक परेमा पार्टी सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै कांग्रेसले सरकारले अध्यादेश जारी गर्दा संसदीय सर्वोच्चताको ख्याल नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ।
बैठकले सीमा जस्तो संवेदनशील विषयमा छिमेकी मुलुकहरूले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने र विवादित क्षेत्रमा नेपालको सहमति बिना कुनै पनि गतिविधि नगर्न ध्यानाकर्षण गराएको छ।