arrow

कास्कीमा भूमिहीनहरूको प्रदर्शन, आवासको हक कार्यान्वयनको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
sukumbasi-pokhara-21-01.jpg

पोखरा । कास्कीमा आवासको हक सुनिश्चित गर्नुपर्ने माग राख्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले विरोध प्रदर्शन गरेका छन्।

भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिको आयोजनामा सोमबार उक्त प्रदर्शन गरिएको हो। आफ्ना मागहरू सम्बोधन गराउन दबाब दिने उद्देश्यले आयोजित प्रदर्शनमा सहभागीहरूले सरकार र राजनीतिक दलहरूले विगतमा गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

प्रदर्शनकारीहरूले ‘हाम्रो नारा, हाम्रो भोट-बिर्स्यौ वाचा, दियौ चोट’, ‘आवासको हक सुनिश्चित गर’ तथा ‘झुटो बोल्न आउँदैन, अर्कोचोटि भोट पाउँदैन’ जस्ता नाराहरू लगाएका थिए।

संघर्ष समितिले निर्वाचनका समयमा गरिएका वाचाहरू कार्यान्वयन नभएको र भूमिहीनहरूको समस्या समाधानमा राज्य उदासीन रहेको आरोप लगाएको छ।

संविधानले सुनिश्चित गरेको आवासको हक व्यवहारमा कार्यान्वयन गर्न तथा अव्यवस्थित बसोवासीलाई स्थायी बसोवासको व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन्।

वर्षौंदेखि थातथलोको सुरक्षा र लालपुर्जाको प्रतीक्षामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ