arrow

होल्डिङ सेन्टरका बालबालिकालाई निःशुल्क शिक्षा र आवास दिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
manohara-sukumbasi-83-1-13 (3).jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउन निजी विद्यालय सञ्चालकहरूसँग आग्रह गरेकी छन्। आइतबार निजी तथा संस्थागत विद्यालयका सङ्घ–सङ्गठन (प्याब्सन र एनप्याब्सन) का पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो प्रस्ताव राखेकी हुन्।

नदी किनाराका अव्यवस्थित बस्ती खाली गर्ने क्रममा बालबालिकाको अध्ययनमा नकारात्मक असर परिरहेको उल्लेख गर्दै कार्यवाहक प्रमुख डङ्गोलले कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रममा रहेका बालबालिकालाई नियमित विद्यालय जाने अवसर प्रदान गर्नुपर्नेमा जोड दिइन्। "अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाको शिक्षाका लागि सबैले मिलेर पहल गरौँ, हामी मिलौँ र बालबालिकाको सर्वोत्तम हितमा काम गरौँ," उनले भनिन्। उनले संस्थागत सामाजिक उत्तरदायित्व र मानवताका दृष्टिले सहकार्य र समन्वयमार्फत अगाडि बढ्न निजी विद्यालयहरूलाई अनुरोध गरेकी छन्।

छलफलमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने लगायतका पदाधिकारीहरूले महानगरको यस पहलले आफूहरूलाई जिम्मेवार बोध गराएको बताए। बालबालिकाको शिक्षा नियमित गर्ने सन्दर्भमा महानगरले अघि सारेको प्रस्तावका विषयमा संस्थागत बैठक बसेर आफ्नो दायित्वका बारेमा जानकारी गराउने उनीहरूले प्रतिबद्धता जनाएका छन्।

छलफलमा काठमाडौँ जिल्ला र महानगर समितिका प्याब्सन तथा एनप्याब्सनका विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो। सरकारले नदी किनारका बस्ती हटाउने अभियान तीव्र पारेसँगै त्यहाँबाट विस्थापित बालबालिकाको भविष्य सुरक्षित गर्न महानगरले यो सक्रियता देखाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ