संघीयताको औचित्यमाथि छलफल आवश्यक छ: एमाले नेता पोखरेल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
129
Shares
काठमाडौँ । नेकपा (एमाले) का नेता एवं संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले नेपालमा संघीयताको आवश्यकता र औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन्। आइतबार नेपाल कानुन समाजले संविधान संशोधनका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले संघीयता जनताको सुखको साध्य नभएको दाबी गर्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने बताए।
नेता पोखरेलले नेपाल जस्तो सानो देशका लागि संघीयता अनिवार्य नभएको उल्लेख गर्दै संविधान संशोधन गर्दा यस पक्षलाई ध्यान दिनु उचित हुने धारणा राखे। उनले संघीयताका संरचनाहरू खर्चिलो भएको सङ्केत गर्दै प्रदेश सभाका सदस्यहरूको सङ्ख्या घटाउनुपर्ने प्रस्ताव समेत गरे। संघको मन्त्रीपरिषद् आकार घटाउने चर्चा भएजस्तै प्रदेशमा पनि मन्त्री र सांसदको सङ्ख्या कटौती गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘पहिलो कुरा संघीयता नै जरुरी हो कि होइन? नेपाल जस्तो सानो देशमा संघीयता साध्य त होइन रहेछ। जनताको सुखको साध्य संघीयता होइन भन्ने पुष्टि भएको छ। अब यो विषयमा गम्भीरताका साथ छलफल गर्न आवश्यक छ।’
न्यायिक प्रणालीको सन्दर्भमा बोल्दै नेता पोखरेलले संवैधानिक इजलास (बेन्च) को आवश्यकता अब नरहेको टिप्पणी गरे। लामो अभ्यासबाट संवैधानिक बेन्च प्रभावकारी नदेखिएको तर्क गर्दै उनले यसको विकल्पबारे सोच्नुपर्ने बताए। साथै, न्यायाधीश नियुक्तिको वर्तमान प्रक्रियाप्रति आम मानिस सन्तुष्ट नरहेको भन्दै उनले नियुक्ति प्रणालीमा पनि सुधारको आवश्यकता औँल्याए।
कार्यक्रममा उनले संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्न र शासन व्यवस्थालाई चुस्त बनाउन दलीय स्वार्थभन्दा माथि उठेर संविधान संशोधन गरिनुपर्नेमा जोड दिए।