arrow

उद्योगी व्यवसायीहरूलाई रविको आग्रह : डर मान्नुपर्दैन, व्यवसाय धराशायी बनाउने मनसाय छैन[भिडियो]

सरकार चुनावमा गरिएको वाचापत्रकै आधारमा सञ्चालन हुने, कुनै पनि शक्तिकेन्द्रको ढोका ढकढक्याउनु नपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
ravi-lamichhane-20.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई कुनै पनि प्रकारको डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधारमार्फत सुरक्षित वातावरण निर्माण गर्ने रहेको बताए।

सभापति लामिछानेले सरकारको सुशासन अभियानमा साथ दिन आग्रह गर्दै राज्यले उद्योगीहरूसँग सहकार्य गरेरै अगाडि बढ्न चाहेको स्पष्ट पारे। यद्यपि, अर्थतन्त्रलाई कमजोर बनाउने र संस्थाहरूलाई नियन्त्रणमा लिने खालका गतिविधिमा भने राज्यले कडाइका साथ निगरानी राख्ने उनले बताए। विगतको राजनीतिक अस्थिरताका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे।

उनले व्यवसायीहरूलाई सम्बोधन गर्दै भने, "तपाईंहरूको मनोबल अलिकति कमजोर भएको र डर त्रास देखिएको भन्ने सुनेर नै म छलफलमा आएको हुँ। सुशासनको एजेन्डा अगाडि बढाउँदा केही प्रश्नहरू तपाईंहरूसम्म आइपुगेका छन् भने त्यसलाई सहज रूपमा लिनुहोला। सरकारले कुनै पनि व्यवसायीलाई हतोत्साही बनाउने वा व्यवसाय धराशायी बनाउने उद्देश्य राखेको छैन।" हिजोको बाध्यताले कतिपय मूल्य–मान्यता उल्लंघन भएको हुन सक्ने भन्दै उनले अब नीतिले नै व्यवसायीलाई सुरक्षा दिने दाबी गरे।

लामिछानेले वर्तमान सरकार चुनावमा गरिएको वाचापत्रकै आधारमा सञ्चालन हुने र त्यसभन्दा दायाँबायाँ नजाने स्पष्ट पारे। उद्योगीहरूलाई आफ्ना विगतका कमीकमजोरी सच्याउन र आन्तरिक लेखापरीक्षण (इन्टरनल अडिट) गर्न सुझाव दिँदै उनले सुधारको प्रक्रियामा राज्यलाई सघाउन आग्रह गरे। "हिजो तपाईंहरू बाध्य भएर नेताका घर–घर धाउनुभयो, अब तपाईंहरूले मेरो घर देख्नु पर्दैन, पार्टीको सदस्यता लिनु पर्दैन र कार्यालयमा पाइलो टेक्नु पनि पर्दैन, तपाईंहरूलाई पोलिसीले प्रोटेक्ट गर्नेछ," उनले बताए।

सरकारले आगामी ५–७ वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखेको र यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे। निजी क्षेत्रको क्षमताकै आधारमा सरकारले लक्ष्य निर्धारण गरेको भन्दै उनले लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको र निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आह्वान गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ