शिक्षाको बजारीकरण रोक्न सार्वजनिक शिक्षामा सुधार अनिवार्य: केदारभक्त माथेमा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
317
Shares
काठमाडौँ । वरिष्ठ शिक्षाविद् डा. केदारभक्त माथेमाले शिक्षा क्षेत्रमा व्यापारीकरण बढेको भन्दै यसलाई रोक्न सार्वजनिक शिक्षामा सुधारको आवश्यकता रहेको बताएका छन्। आइतबार काठमाडौँ महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले निजी विद्यालयको प्रभावका कारण शिक्षा क्षेत्र महँगो बन्दै गएकोमा चिन्ता व्यक्त गरे।
उनले नेपालमा प्रत्येक नागरिकले औसतमा कुल आम्दानीको करिब ६ दशमलव ८ प्रतिशत शिक्षामा खर्च गर्ने गरेको उल्लेख गर्दै विकसित देशहरूको तुलनामा यो निकै बढी भएको बताए। यसलाई नियन्त्रण गर्न सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। निजी विद्यालयको विस्तारले खर्च बढाउनुका साथै सामाजिक विभाजनलाई समेत गहिरो बनाउँदै लगेको उनको भनाइ थियो।
डा. माथेमाले भने, ‘नेपालको शिक्षा धेरै महँगो भयो। प्रत्येक नेपाली नागरिकले औसतमा शिक्षामा कुल आम्दानीको ६ दशमलव ८ प्रतिशत खर्च गर्दछन्। जापान जस्तो विकसित देशमा पनि यो ४ प्रतिशतको हाराहारीमा मात्र हुन्छ। यो सबै लगानी सामुदायिक विद्यालयमा गयो भने कति बचत हुन्छ, विचार गर्नुहोस्। यो सबै निजी विद्यालयको कारण भएको हो।’ उनले दक्षिण एसियाका अन्य देशमा जे भए पनि नेपालले सार्वजनिक शिक्षामा जोड दिनुपर्ने र यसले मिलनसार समाज निर्माणका साथै शिक्षामा समान अवसर सुनिश्चित गर्ने तर्क गरे।
सरकारले कक्षा ५ सम्म परीक्षा नलिने नीति लिएकोमा समर्थन जनाउँदै उनले यो सकारात्मक कदम भएको बताए। यद्यपि, परीक्षा नलिँदा विद्यार्थीको सिकाइमा असर पर्न नदिन उनीहरूलाई निरन्तर गृहकार्य र अन्य सिर्जनशील कार्यमार्फत सिकाइ प्रक्रियामा सक्रिय राखिनुपर्नेमा उनले जोड दिए।