कान्ति लोकपथ सुचारु, भरेङडाँडाको पहिरो पन्छाएपछि दुवैतर्फी यातायात सञ्चालन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
298
Shares
काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कान्ति लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका–८ भरेङडाँडामा गएराति खसेको पहिरो हटाएपछि यातायात सेवा पुनः सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज अपराह्नदेखि सडक दुवैतर्फी रूपमा सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले पहिरो पन्छाएसँगै अहिले सो सडकखण्डमा सवारी साधनहरू निर्बाध रूपमा चलिरहेको बताए। यसका साथै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व-पश्चिम महेन्द्र राजमार्ग र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने सडकमा पनि हाल सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको जानकारी उनले दिए।
प्रहरीका अनुसार हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ चल्ने सवारी साधनहरू पनि नियमित रूपमा सञ्चालनमा रहेका छन्। वर्षाका कारण ग्रामीण क्षेत्रका सडकहरूमा जोखिम कायम रहे पनि मुख्य राजमार्गहरूमा अहिले यातायातको समस्या नरहेको प्रहरीको भनाइ छ।