लेखेको र बोलेकै कारण मिडियामाथि दमन बढेको अध्यक्ष शर्माको दाबी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
210
Shares
काठमाडौँ। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालमा प्रेस स्वतन्त्रतामाथि हुने घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकी छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ऐक्यवद्धता र्याली कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले लेखेको र बोलेकै कारण मिडियामाथि राज्य र गैरराज्यबाट दमन भइरहेको आरोप पनि लगाइन् ।
उनले भनिन्, ‘नेपाल पत्रकार महासंघले पछिल्लो वर्ष मिडिया मनिटरिङ गर्दा प्रेस स्वतन्त्रताको घटना बढेको देखिएको छ। गत वर्ष ७३ ओटा प्रेस स्वतन्त्रता हनन् का घटना घटेका थिए भने यस वर्ष एक सय ३१ हननका घटना भएका छन्। अझै कतिपय घटनाहरू हामीसम्म आइपुगेका छैनन् । लेखेको र बोलेका कारण मिडियामाथि अझै राज्य र गैरराज्यबाट दमन भइरहेको छ ।’
वर्तमान सरकारले धेरै पत्रकारको रोजीरोटी खोस्ने काम गरेको बताउदै उनले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएको बताइन् ।
उनले भनिन्, ‘लोकतन्त्रप्रति विश्वास गर्ने, लोकतन्त्र ल्याउन ठूलो भूमिका निर्वाह गर्ने मिडियाहरूको मुख बन्द गर्ने काम सरकारले गरेको छ । धेरै पत्रकारहरूको रोजीरोटी खोस्ने काम गरेको छ । मिडियामाथि आर्थिक नाकावन्दी नै लगाएको छ ।’
यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले कानून र नियममा मात्र उल्लेख गरेर प्रेस स्वतन्त्रता सँधै सुरक्षित नहुने बताएका छन् ।
उनले अघिल्लो पुस्ताले पुर्याएको योगदानलाई थप मजबुत बनाउँदै आगामी पुस्ताका लागि सशक्त प्रेस स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
दुई तिहाइ नजिकको सरकारले संसदप्रति पर्याप्त आत्मविश्वास देखाउन नसकेको बताउँदै अध्यादेशको सहारा लिएको टिप्पणी गरे ।
मिश्रले प्रेस स्वतन्त्रता पूर्वजहरूको ठूलो बलिदानबाट प्राप्त भएको स्मरण गर्दै यसलाई संविधानमा लेखेर मात्र नभई व्यवहारमा उतारेर संरक्षण गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घले उठाएका माग र एजेन्डाप्रति बार एसोसिएसनको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै उनले विज्ञापनका माध्यमबाट वा न्यूनतम् सुविधा कटौती गरेर प्रेसलाई अप्रत्यक्ष रूपमा नियन्त्रण गर्ने प्रयासविरुद्ध बार सजग रहेको उल्लेख गरे।