नारायणगढ–मुग्लिन सडकमा पहिरो: तुइन खोलामा यातायात एकतर्फी, खुलाउने प्रयास जारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
323
Shares
तस्बिर फाइल
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आज बिहान ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। बिहान ५:४५ बजे पहिरो खसेपछि यो व्यस्त सडकखण्ड हाल एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरो खसेको जानकारी लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको छ। पहिरो पन्छाएर सडकलाई पूर्ण रूपमा सुचारु गर्नका लागि डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको छ।
पहिरो खसेको यो स्थान मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ। सडक एकतर्फी मात्र खुल्ला भएकाले सवारी साधनको चाप बढ्न सक्ने र यात्रामा ढिलाइ हुन सक्ने भन्दै प्रहरीले चालकहरूलाई धैर्यता अपनाउन र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।
अवरुद्ध राजमार्गका कारण काठमाडौँ र पोखराबाट चितवन हुँदै बाहिरिने तथा भित्रिने यात्रीहरू प्रभावित भएका छन्।