काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई 'तुरुन्तै कब्जा' गर्ने चेतावनी दिएका छन्। शनिबार फ्लोरिडाको वेस्ट पाम बिचमा आयोजित 'फोरम क्लब' को एक कार्यक्रममा बोल्दै ट्रम्पले क्युबामा प्रशस्त समस्याहरू रहेको र अमेरिकाले क्युबालाई आफ्नो नियन्त्रणमा लिन सक्ने बताए।
उनले आफ्नो सम्बोधनमा इरानसँगको जारी विषयहरू समाधान भए लगत्तै क्युबाको पालो आउने संकेत गर्दै क्युबालाई लगभग तुरुन्तै कब्जा गर्ने र त्यहाँका समस्याहरू पहिले समाप्त गर्ने दाबी गरे।
यसअघि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै क्युबा सरकारका नीति र कार्यहरू अमेरिकी राष्ट्रिय सुरक्षाका लागि असामान्य र असाधारण खतरा भएको उल्लेख गरेको थियो। ह्वाइट हाउसका अनुसार क्युबाली सरकारका अभ्यासहरू स्वतन्त्र र लोकतान्त्रिक समाजको नैतिक एवं राजनीतिक मूल्यमान्यता प्रतिकूल रहेका छन्।
सोही सिलसिलामा राष्ट्रपति ट्रम्पले शुक्रबार क्युबाली सरकारमाथि थप कडा आर्थिक प्रतिबन्धहरू लगाउने र पहिलेदेखि लागू रहेका प्रतिबन्धहरूलाई अझ विस्तार गर्ने कार्यकारी आदेशमा समेत हस्ताक्षर गरिसकेका छन्।
क्युबाली सरकारले भने ट्रम्पको यस कदम र चेतावनीलाई दृढतापूर्वक अस्वीकार गरेको छ। क्युबाले यसलाई क्युबाली जनतामाथि सामूहिक दण्ड लगाउने उद्देश्यले गरिएको एकतर्फी जबरजस्तीको संज्ञा दिएको छ। क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकी प्रयासहरू बाह्य प्रकृतिका रहेको र यसले संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन गर्ने बताए।
उनले अमेरिकालाई क्युबा वा अन्य कुनै तेस्रो देश र संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाउने कुनै कानुनी अधिकार नभएको स्पष्ट पारे। ह्वाइट हाउसले आफ्नो नीति थप कडा बनाउने संकेत दिएको केही घण्टामा नै ट्रम्पको यस्तो आक्रामक टिप्पणी आएपछि दुई देशबीचको राजनीतिक सम्बन्ध थप तनावपूर्ण बनेको छ।