arrow

जर्मनीबाट सैनिक फिर्ता गर्ने ट्रम्पको योजना, ट्रान्स–एट्लान्टिक सम्बन्धमा नयाँ दरार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
german-usa-trump-merz.jpg
तस्बिर फाइल

काठमाडौँ ।  अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जर्मनीमा तैनाथ करिब पाँच अमेरिकी सैनिकहरू फिर्ता गर्ने औपचारिक योजना सार्वजनिक गरेको छ। शुक्रबार घोषणा गरिएको यो कदमले अमेरिका र युरोपेली सहयोगी राष्ट्रहरूबीच, खास गरी इरानसँगको जारी द्वन्द्वलाई लिएर बढ्दो कूटनीतिक दूरीलाई थप स्पष्ट पारेको छ। 

जर्मनीका चान्सलर फ्रिडरिख मर्जले हालै इरानसँगको वार्तामा अमेरिका ‘अपमानित भइरहेको’ र वासिङ्टनसँग युद्ध अन्त्यको कुनै ठोस रणनीति नभएको भन्दै आलोचना गरेका थिए। चान्सलरको सोही टिप्पणीलाई ‘अनुचित र सहयोगी नभएको’ ठहर गर्दै पेन्टागनले यो निर्णय लिएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले चान्सलर मर्जको आलोचनाको कडा प्रतिवाद गर्दै उनलाई ‘के बोलिरहेका छन् भन्ने नै थाहा नभएको’ टिप्पणी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत जर्मनीमा सैनिक सङ्ख्या कटौतीको समीक्षा भइरहेको र यसको निर्णय छिट्टै हुने बताएका छन्। जर्मनी मात्र नभई ट्रम्पले इटाली र स्पेनप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। इरानसँगको द्वन्द्व र हर्मज जलडमरू मध्यको सुरक्षामा पर्याप्त सहयोग नगरेको भन्दै उनले ती देशहरूबाट पनि सैनिक फिर्ता हुनसक्ने सङ्केत दिएका छन्। ट्रम्पले स्पेनको भूमिकालाई अत्यन्तै खराब र इटालीले कुनै सहयोग नगरेको आरोप लगाएका छन्।

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले सम्भावित सैनिक कटौतीको निर्णयका लागि आफ्नो देश तयार रहेको बताएका छन्। यद्यपि उनले यस्ता निर्णयहरू सहयोगी राष्ट्रहरूबीचको आपसी छलफलबाट हुनुपर्नेमा जोड दिएका छन्। जर्मनीले सैन्य कटौती भए पनि रामस्टाइन हवाई अड्डा र स्टुटगार्टस्थित अमेरिकी मुख्यालय जस्ता महत्वपूर्ण रणनीतिक केन्द्रहरू कायमै रहने अपेक्षा गरेको छ। 

गत वर्षको अन्त्यसम्मको तथ्याङ्कअनुसार जर्मनीमा ३६,००० भन्दा बढी सक्रिय अमेरिकी सैनिक, १,५०० आरक्षित सैनिक र ११,५०० नागरिक कर्मचारी कार्यरत छन्। पेन्टागनका अनुसार यो फिर्ती प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ जसले युरोपेली सुरक्षा संरचना र नाटोभित्रको शक्ति सन्तुलनमा दीर्घकालीन असर पार्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ