जिप दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त: सडक सुरक्षालाई प्राथमिकता दिन माग
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
224
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
रास्वपाले विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिका बाबजुद उद्धार कार्यमा खटिएका सुरक्षा निकाय तथा उद्धार टोलीहरूको साहस र समर्पणको उच्च प्रशंसा गरेको छ। साथै, दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ।
रास्वपाले यस दुखद दुर्घटनाले देशको सडक सुरक्षाको अवस्थाबारे फेरि एकपटक गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ। यस्ता घटनालाई केवल तथ्याङ्कमा सीमित नगरी नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्नेमा पार्टीले जोड दिएको छ। यस्ता दुर्घटनाले परिवार र समुदायमा दीर्घकालीन सामाजिक र मानसिक असर पार्ने भन्दै सरोकारवालासँग मिलेर ठोस समाधान खोज्ने प्रतिबद्धता रास्वपाले जनाएको छ।
आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडाइका साथ कार्यान्वयन तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने रास्वपाको भनाइ छ। नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने कुरामा विज्ञप्तिमा विशेष जोड दिइएको छ।
रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप थवाङ गाउँपालिका-१ को भिरालो क्षेत्रमा करिब ७००/८०० मिटर तल खसेको थियो।