arrow

दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको  लक्ष्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
dipendra-singh-aairee-26-2-15uuu.jpg
तस्बिर फाइल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नेपालले यूएईसामु जितका लागि २९० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको स्कोर खडा गर्‍यो। नेपालको यो योगफल तयार पार्ने क्रममा दीपेन्द्रसिंह ऐरीले सानदार शतकीय पारी खेले भने अनुभवी ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतकको योगदान दिए।

मध्यक्रममा आएका दीपेन्द्रले ९४ बलको सामना गर्दै १३ चौका र १ छक्का प्रहार गरी १०० रन पूरा गरे। अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक हो। त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ७ चौका प्रहार गर्दै ५६ रनको महत्त्वपूर्ण पारी खेले। खेलको मध्यतिर नेपाल दबाबमा रहेका बेला दीपेन्द्र र गुल्शन झाले छैटौँ विकेटका लागि मात्र ७८ बलमा १०२ रनको आक्रामक साझेदारी गर्दै टोलीलाई विशाल स्कोरतर्फ डोर्‍याए। 

गुल्शन ४४ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेलले ३९ रन जोडे। अन्य ब्याट्सम्यानहरू अर्जुन कुमाल र आरिफ शेखले समान ११–११ रन जोड्दा भीम सार्की भने शून्यमै आउट भए। यूएईका तर्फबाट अजय कुमार र जुनैद सिद्दिकीले २–२ विकेट चट्काए।

यसअघिको पहिलो खेलमा यूएईमाथि ३७ रनको रोमाञ्चक जित निकालेको नेपाल दोस्रो खेलमा भने ओमानसँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

ओमानविरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै ओमानले ३०५ रन बनाएको थियो, जसमा कप्तान जतिन्दर सिंहले १३० रनको आक्रामक शतकीय योगदान दिएका थिए। आजको खेलमा दीपेन्द्रको सानदार फर्म र बलियो लक्ष्यका कारण नेपाल यूएईलाई पराजित गर्दै पुनः जितको लयमा फर्कने दाउमा देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ