बल्खु र वंशीघाटका सुकुमवासीको विवरण सङ्कलन शुरू, ५० परिवारले टिपाए नाम
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
337
Shares
काठमाडौँ । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमवासी बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशाला पुगेर आफ्नो विवरण टिपाएका छन्। आफ्नो नाममा कुनै पनि घर, जग्गा वा पैतृक सम्पत्ति नभएको र आयस्रोत समेत अत्यन्त न्यून रहेको उल्लेख गर्दै ती परिवारहरूले नाम दर्ता गराएका हुन्।
हाल दशरथ रङ्गशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरूको विस्तृत विवरण सङ्कलन गरिरहेको छ।
विवरण सङ्कलनको कार्य सकिएपछि उनीहरूको स्वास्थ्य जाँच गरिनेछ र आवश्यक मनोपरामर्श समेत प्रदान गरिने तयारी गरिएको छ। त्यसपश्चात् मात्र उनीहरूलाई सरकारले तोकेका विभिन्न ‘होल्डिङ सेन्टर’ हरूमा लैजाने योजना बनाइएको छ।
सुकुमवासीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रेमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिनेछ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले दशरथ रङ्गशालामा आइपुगेका सुकुमवासीहरूको विवरण सङ्कलन कार्य तीव्र पारिएको र उनीहरूलाई चाँडै नै होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको बताएका छन्। खोला किनारका बस्तीहरू खाली गराउने अभियानका क्रममा विस्थापित भएका वास्तविक सुकुमवासीहरूको पहिचान र उचित व्यवस्थापनका लागि सरकारले यो प्रक्रिया अघि बढाएको हो।