साँचो क्रान्ति करुणाबाट शुरू हुन्छ प्रधानमन्त्रीज्यू : रक्षा बम
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
297
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले बुद्ध जयन्तीका अवसरमा व्यक्त गरेको दार्शनिक विचारमाथि जेनजी अभियन्ता रक्षा बमले कडा प्रतिउत्तर दिएकी छन्। प्रधानमन्त्रीले साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ (ज्ञान) बाट शुरू हुने बताएको केही समयमै बमले वास्तविक क्रान्तिको प्रस्थानविन्दु ‘क’ अर्थात् ‘करुणा’ हुनुपर्ने तर्क अघि सारेकी हुन्।
प्रधानमन्त्री साहले बुद्ध जयन्तीको शुभकामना सन्देश दिँदै ज्ञानको उज्यालोले नै अँध्यारो र समस्याको निवारण गर्ने उल्लेख गरेका थिए। उनले मानिसको यात्रा ज्ञानको खोजी र समस्या समाधानको मार्गमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइको प्रत्युत्तर दिँदै अभियन्ता बमले लेखेकी छन्, “साँचो क्रान्ति ‘क’ बाटै शुरू हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो।”
रक्षा बमको यो टिप्पणी सरकारले काठमाडौँका खोला किनारका सुकुम्बासी बस्तीमा चलाइरहेको डोजर अभियान र त्यसपछिको अव्यवस्थाप्रति लक्षित छ। स्पष्ट र दीर्घकालीन व्यवस्थापनको योजनाबिना नै बस्ती भत्काइएको र विस्थापितहरूलाई होल्डिङ सेन्टरमा कष्टकर अवस्थामा राखिएको भन्दै उनले सरकारको कदमको आलोचना गरेकी हुन्।