साँचो क्रान्ति ‘क’बाट नभई ‘ज्ञ’बाट शुरू हुन्छः प्रधानमन्त्री साह
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
332
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले साँचो क्रान्ति ‘क’बाट नभई ‘ज्ञ’बाट शुरू हुने बताएका छन्। २५७०औँ बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले उक्त ‘ज्ञ’ को अर्थ ‘ज्ञान’ भएको प्रष्ट पारे।
बुद्धको जन्मले धन्य नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री साहले विश्वशान्तिको कामना गरे। उनले बुद्धका चार आर्य सत्य— दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारणको मार्ग छ भन्ने सन्दर्भलाई उल्लेख गर्दै बुद्धले देखाएको बाटो नै वास्तविक दुःख निवारणको मार्ग भएको बताए।
प्रधानमन्त्रीले उज्यालोको अभाव नै अँध्यारो भएको चर्चा गर्दै जहाँ ज्ञानको किरण पुग्छ, त्यहाँ अँध्यारो स्वतः हराएर जाने उल्लेख गरे। उनले मानिसको यात्रा ज्ञानको उज्यालो खोज्न र समस्या समाधानको मार्ग पहिल्याउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्रीले भनेका छन्, “बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ । बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो, उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।”