बनेपा । बनेपामा आजदेखि चण्डेश्वरी जात्रा शुरू भएको छ। काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि यो जात्रा मनाइँदै आएको मानिन्छ ।
विशेषगरी नेवार समुदायले हरेक वर्ष वैशाख पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने परम्परा रहेको छ।वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा पनि भनिन्छ । यही अवसरमा चण्डेश्वरी मन्दिर परिसरमा ठूलो मेला लाग्ने गर्दछ। यस वर्ष उक्त मेला आइतबारसम्म सञ्चालन हुनेछ।
पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने खड्ग (तरबार) सहित जात्राको विशेष शुरुआत गरिन्छ, जहाँ सरकारको तर्फबाट पनि पूजा गर्ने चलन छ। जात्राको अवधिभर बनेपाका विभिन्न टोलमा स्थानीय बासिन्दा भजन–कीर्तनमा व्यस्त देखिन्छन् ।
जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्कुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रुपमा जात्रा शुरू भएको मानिन्छ ।
पूर्णिमाको दिन तुलसीको काठबाट बनाइएको रथमा देवी चण्डेश्वरीलाई राखी देवगृहबाट नगर परिक्रमा गराउने परम्परा छ । भोलिपल्ट बकुटोल क्षेत्रमा रथ पुर्याइन्छ, जहाँ देवीले भण्डासुर दैत्यको वध गरी समाधि गरिएको विश्वास गरिन्छ । त्यहाँ भव्य स्वागत, पूजा–आजा तथा बलि दिने परम्परा रहेको छ।