त्रिकोणात्मक क्रिकेटमा नेपाल र यूएईबीच भिडन्त, नेपाल ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
231
Shares
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा नेपालले अहिले यूएईसँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
यसअघिको खेलमा नेपालले यूएईमाथि ३७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
दोस्रो खेलमा ओमानसँग नेपालको लज्जास्पद हार
दोस्रो खेलमा नेपालले ओमानसँग लज्जास्पद हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले ओमानसँग १०२ रनको फराकिलो हार बेहोरेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ८ विकेटको क्षतिमा ३०५ रन बनायो । कप्तान जतिन्दर सिंहले ओमानका लागि अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ९६ बलमा १३० रन जोडे । उनले १५ चौका र ५ छक्का हानेका थिए ।
त्यस्तै जितेन रामआन्नदीले ४३ बलमा ४३ रन बनाए । सोमपाल कामिले ४ तथा सन्दीप लामिछाने र दिनेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
जवाफमा वर्षाले प्रभावित खेलमा डक वर्थ लेविस नियमअनुसार नेपाल १०२ रनले पराजित भयो । नेपालले ३६ ओभर ५ बल खेल्दा ७ विकेटको क्षतिमा १५५ रनमात्र बनाउन सक्यो ।
वर्षाले २५८ रनको नयाँ चुनौतीमा नेपाल निकै पछाडि परेको हो । दिपेन्द्रले ६२ बलमा ६० रन बनाएको इनिङ्समा अन्य कुनै ब्याटरले उल्लेखनीय खेल्न सकेनन् ।
फर्ममा नभएका कप्तान रोहित पौडेलले २३ बलमा १० रनमात्र जोड्न सके ।
आफ्नो पहिलो खेलमा युएईलाई पराजित गर्दै शृङ्खलामा सुखद शुरूआत गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा थियो ।
नेपाल हाल २२ खेलबाट १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ।
यता २६ खेलमा ३१ अङ्कका साथ ओमान अङ्क तालिकाको तेस्रो स्थानमा छ।
पहिलो खेलमा नेपालले हरायो यूएईलाई
नेपालले विजयी शुरूआत गरेको छ । नेपालले अहिले यूएईलाई ३७ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा २०१ रनको चुनौती पछ्याएको यूएई ४८ ओभर २ बलमा अलआउट हुँदै १६३ रनमा समेटियो । हरप्रित सिंहले ३९ रन बनाए ।
नेपालका लागि करण केसीले ४, सोमपाल कामी र सन्दीप लामिछानेले समान २ तथा दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान १ विकेट लिए ।
यसअघि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २०० रनमै समेटियो । नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २०० रन बनाएको हो । दिपेन्द्र सिंह ऐरीले ९० बलमा ७५ रन बनाए । कुशल भुर्तेलले २५ बलमा २४ रन बनाए । करण केसीले ३७ बलमा २२ रन जोडे ।
जुनैद सिद्दिकी र अजय कुमारले समान ३ विकेट लिए ।
अंक तालिका
अंक तालिकामा २४ खेलबाट ३६ अंकसहित अमेरिका शीर्ष स्थानमा छ । २८ खेलबाट ३४ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
२६ खेलबाट ३१ अंकसहित ओमान तेस्रो, २४ खेलबाट २८ अंकसहित नेदरल्याण्डस् चौथो, २८ खेलबाट २२ अंकसहित नामिबिया पाँचौँ तथा २४ खेलबाट २१ अंकसहित क्यानाडा छैटौँ स्थानमा छ ।
२२ खेलबाट १४ अंकसहित नेपाल सातौँ तथा २२ खेलबाट १२ अंकसहित यूएई पुछारमा छ ।
नेपालका लागि आफूभन्दा माथिल्लो तालिकामा रहेका नामिबिया र क्यानाडालाई उछिन्न काठमाडौँका लगातार दुई श्रृंखलाका आठमध्ये कम्तीमा पाँच खेलमा जित अनिवार्य छ ।
यस पटकको खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भूर्तेल, आशिफ शेख, भिम विश्वकर्मा, आरिफ शेख, बासिर एहेमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामीछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन् । मुख्य प्रशिक्षक स्टुआर्ट ल हुन् भने सहायक प्रशिक्षकहरुमा कलाम अली र बसन्त शाही रहेका छन् ।