प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैङ्कको अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
198
Shares
तस्बिर : फाइल
काठमाडौँ। एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैङ्कका अनुसार, खाताबाट गरिएको कर कट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालित स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले ग्राहकहरूले बैङ्कको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैङ्किङ एप (एन आई सी एसिया मो बैंक) मा रहेको ‘प्यान अद्यावधिक’ विकल्पमा ट्याप गरी यथाशीघ्र आफ्नो प्यान अद्यावधिक गर्न सक्नुहुनेछ। साथै, आफूलाई पायक पर्ने बैङ्कको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउन प्यान अत्यावश्यक रहेको छ। प्यान अद्यावधिक भएपछि उक्त कर कट्टी विवरण सोही प्यानमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा मिलान गर्ने भएकाले ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र बैङ्कसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने बैङ्कले विश्वास लिएको छ।
प्यान अद्यावधिक नगरेको कारणले ई–टीडीएस मा ब्याजदर दाखिला नभएमा वा पछि थप समायोजन गर्नुपरेमा बैङ्क जिम्मेवार नहुने ब्यहोरा पनि बैङ्कले स्पष्ट पारेको छ।
त्यसै गरी, बैङ्कले ग्राहक महानुभावहरूलाई खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। यसका लागि बैङ्कको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैङ्किङ एप (एनआईसी एसिया मो बैङ्क) को ‘माइ प्रोफाइल’ मा ट्याप गरी ‘चेन्ज इमेल’ विकल्प छनोट गर्न सकिनेछ । शाखा कार्यालयबाट पनि इमेल ठेगाना अद्यावधिक गर्न आवेदन दिन सकिने व्यवस्था छ।
पहिले नै प्यान उपलब्ध गराएर पनि कर कट्टी विवरण समावेश नभएको वा इमेल ठेगाना अद्यावधिक नभएको खण्डमा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैङ्कले अनुरोध गरेको छ।