काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मअनुसार आज वैशाख शुक्ल चतुर्दशीका दिन भगवान् विष्णुको चौथो अवतारका रूपमा नृसिंह जयन्ती मनाइँदै छ। धार्मिक मान्यताअनुसार आफ्ना परम भक्त प्रह्लादको रक्षा गर्न र अभिमानी दैत्यराज हिरण्यकश्यपुको संहार गर्नका लागि भगवान् विष्णुले यसै दिन नृसिंह अवतार धारण गरेका थिए।
हिरण्यकश्यपुले ब्रह्माजीबाट घरको भित्र वा बाहिर, दिन वा रात, अस्त्र वा शस्त्र र मानव वा पशु कसैबाट पनि नमर्ने वरदान पाएर तीनै लोकमा अत्याचार मच्चाएका थिए। उनको अहङ्कार यति बढ्यो कि उनले सृष्टिको मालिक आफू नै भएको दाबी गर्दै आफ्नै छोरा प्रह्लादलाई समेत हरि भक्ति गरेको भन्दै मार्ने अनेकौँ प्रयत्न गरे।
तर प्रह्लादको अटल विश्वास र भक्तिले गर्दा हात्तीले कुल्चाउँदा वा समुद्रमा बगाउँदा पनि उनलाई केही भएन। अन्ततः हिरण्यकश्यपुले आफ्नो अगाडि ईश्वर देखाउन चुनौती दिँदा खम्बा फुटाएर आधा शरीर सिंह र आधा मानिसको स्वरूपमा भगवान् नृसिंह प्रकट भए। भगवान्ले ब्रह्माजीको वरदानलाई सम्मान गर्दै सन्ध्या समयमा, घरको संघारमा र आफ्नो काखमा राखेर नङ्ग्राको सहायताले हिरण्यकश्यपुको वध गरे।
यसरी असत्यमाथि सत्यको जित भएको यस पावन दिनलाई हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक मनाउने गर्दछन्। नृसिंहको भयानक क्रोधलाई अन्त्यमा भक्त प्रह्लादको प्रार्थनाले मात्र शान्त पारेको पौराणिक कथामा उल्लेख छ, जसले ईश्वरको सर्वव्यापकता र भक्तिको शक्तिलाई उजागर गर्दछ।