काठमाडौँ । काठमाडौं चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्मको सडक निर्माणका लागि बुधबार औपचारिक रूपमा सहायता सम्झौता सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगले यस सम्झौता पत्रमा हस्ताक्षर गरेपछि परियोजना अघि बढ्ने निश्चित भएको हो।
सम्झौताअनुसार दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक र पुल विस्तार गरिनेछ, जसका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। यसअघि पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार कार्य सन् २०१९ मा नै सम्पन्न भइसकेको छ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने कुनै पनि समस्यालाई एक दिनभित्रै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्तर–दक्षिण सडक सञ्जालको विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा चीनबाट थप लगानीको अपेक्षा समेत गरे।
त्यसैगरी, चिनियाँ राजदूत माओमिंगले नेपालमा उपयुक्त लगानीको वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू थप लगानी गर्न इच्छुक रहेको बताए। यो विस्तार कार्यले काठमाडौंको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न र चक्रपथको आवागमनलाई थप सहज बनाउन ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ।