प्रचण्डको ‘सत्ता कब्जा’ को सोच र उग्रवामपन्थी भड्कावले माओवादी आन्दोलन विघटनतर्फ: विष्णु पौडेल
प्रचण्डले नेतृत्व गरेको माओवादीसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने हैसियत छैन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
1.5k
Shares
तस्बिर फाइल
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘सत्ता कब्जा’ गर्ने रणनीति र उग्रवामपन्थी कार्यशैलीका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको दाबी गरेका छन्। शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात् गर्न नसक्दा सो पार्टीको अस्तित्व सङ्कटमा परेको उनको तर्क छ।
पौडेलले २०६६ सालको कटवाल काण्डलाई स्मरण गर्दै तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको बताए। प्रचण्डले सेना प्रमुख हटाएर आफ्नो अनुकूलको व्यक्ति राख्दै सत्ता कब्जा गर्ने रणनीति बुनेको र एमालेले बारम्बार सम्झाउँदा पनि हठ नत्यागेका कारण अन्ततः उनले सरकारको नेतृत्व नै गुमाउनुपरेको पौडेलको भनाइ छ। उनका अनुसार हिंसाको बाटोले भन्दा पनि शान्तिपूर्ण आन्दोलनको बलमा मात्र गणतन्त्र स्थापना भएको हो।
उपाध्यक्ष पौडेलले हाल प्रचण्डले नेतृत्व गरेको माओवादीसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने हैसियत नरहेको जिकिर गरे। उनले माओवादीले अहिले माओवाद र जनयुद्धको बाटो परित्याग गरिसकेको र वैचारिक रूपमा स्पष्ट हुन नसक्दा यो सङ्गठन करिब समाप्तिको दिशामा रहेको टिप्पणी गरे। माओवादी नामका केही साना समूहहरू भए पनि मूलधारले आफ्नो मौलिक पहिचान गुमाइसकेको उनको विश्लेषण छ।