arrow

अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
bp-highway-sanchalan.jpg

काठमाडौँ । रोशी खोलामा आएको बाढीका कारण शनिबारदेखि अवरुद्ध बनेको बीपी राजमार्ग सोमबार साँझबाट पुनः सञ्चालनमा आएको छ। बाढीले सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि ठप्प बनेको सवारी आवागमन अस्थायी डाइभर्सन निर्माण गरेसँगै सुचारु भएको हो।

शनिबार दिउँसोको वर्षापछि रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार खण्डअन्तर्गत करिब चार किलोमिटर क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सनहरू बगाएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, बाढीले क्षति पुर्‍याएको स्थानमा पुनः नयाँ डाइभर्सन निर्माण गरिएपछि सोमबार साँझदेखि सवारी साधनहरू गन्तव्यतर्फ लाग्न सफल भएका छन्।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पूर्वी नेपाल जोड्ने मुख्य लाइफलाइन ठप्प भएको थियो। यस अवधिमा यात्रुहरूले खुर्कोट–मन्थली–चरिकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो, जसका कारण सामान्यभन्दा चार घण्टा बढी समय खर्चिनु परेको थियो। रोशी खोला किनारको करिब १८ किलोमिटर सडक बाढीले पटक-पटक बगाउँदा यो क्षेत्रमा यात्रा निकै जोखिमपूर्ण र अनिश्चित बन्दै आएको छ।

खोलाकै सतहमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएकोले सामान्य वर्षा हुनासाथ बाढीले सडक बगाउने जोखिम अझै हटेको छैन। सडक पुनर्निर्माणको गति सुस्त रहेकाले यस वर्षको वर्षायाममा पनि यात्रुले सास्ती खेप्नुपर्ने देखिएको छ। सडक खुले पनि मौसम प्रतिकूल हुनासाथ सडक फेरि अवरुद्ध हुन सक्ने भएकाले पूर्ण सतर्कता अपनाएर मात्र यात्रा गर्न प्रहरीले चालक तथा यात्रुहरूलाई विशेष आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ