नातावाद, भनसुन र भ्रष्टाचारमा सम्झौता नगर्ने मन्त्री सीता बादीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
325
Shares
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानूनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट घोषणा गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री बादीले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पुगेको उल्लेख गर्दै आफूले पदमा रहँदा नगर्ने कामहरू सार्वजनिक गरेकी हुन्।
उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा-बढुवा मिलाउने काम नगर्ने स्पष्ट पारेकी छन्।
कानूनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने, कानून उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कारबाहीबाट बचाउने काममा पनि आफू संलग्न नहुने उनले बताएकी छन्।
लागुऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न व्यक्तिको संरक्षण नगर्ने र कुनै पनि बहानामा कमिसन, घुस वा भ्रष्टाचारमा संलग्न नहुने उनको प्रतिबद्धता छ।
मन्त्री बादीले विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैँ लड्ने उल्लेख गरेकी छन्।
उनले राज्यका कुनै पनि स्रोत साधनको दुरुपयोग नगर्ने, सरकारी सेवा छिटो गराइदिन भनसुन वा सिफारिस स्वीकार नगर्ने तथा मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा-क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी नलिनेसमेत बताएकी छन्।
‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन, सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु,’ उनले लेखेकी छन्।
नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफू स्वयं साथमा उभिने प्रतिबद्धता जनाउँदै उनले सुशासन केवल सरकारको नीतिले मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गरेकी छन्।
‘सम्बन्ध होइन नियमको सम्मान गरौं, दबाब होइन न्यायको साथ दिऔं, व्यक्तिगत स्वार्थ होइन समाजको हितलाई प्राथमिकता दिऔं’ भन्दै सबैलाई उनले सुशासनको अभियानमा साथ दिन आह्वान गरेकी छन्।
यस्तो छ बादीको घोषणा
प्रिय नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू,
जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता भएको छ। यस अवधिमा म आफ्ना केही विचार र प्रतिबद्धता यहाँहरू सामु राख्न चाहन्छु। जिम्मेवारी सम्हालेपछिका कामबारे आगामी दिनमा अद्यावधिक गर्नेछु। अहिले भने मैले नगर्ने केही विषयहरू स्पष्ट गर्न चाहन्छु।
पद र जिम्मेवारीमा म निम्न कामहरू गर्दिनँः
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ।
२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ।
३. कानुन वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने/गराउने काममा संलग्न हुने छैन। त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु। यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन।
७. राज्यका कुनै पनि स्रोत–साधनको दुरुपयोग गर्दिनँ।
८. सरकारी सेवा छिटो गराइदिन shortcut खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ।
९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन।
१०. “भोट दिएको हुँ” भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन; सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु।
नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा भने सम्भव भएसम्म म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु।
मलाई विश्वास छ—सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ।
हामी सबै मिलेर मात्र वास्तविक परिवर्तन सम्भव छ।
आउनुहोस्,
सम्बन्ध होइन—नियमको सम्मान गरौं।
दबाब होइन—न्यायको साथ दिऔं।
व्यक्तिगत स्वार्थ होइन—समाजको हितलाई प्राथमिकता दिऔं।