अमेरिका र इजरायलसँगको तनावका बीच इरानलाई रूसको बलियो समर्थन
इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण थप कडा बनाउने सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
549
Shares
काठमाडौँ । अमेरिका र इजरायलसँग इरानको तनाव बढिरहेका बेला रूसले इरानलाई आफ्नो कूटनीतिक समर्थन जारी रहने स्पष्ट पारेको छ। सोमबार सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी विदेश मन्त्री अब्बास अराघचीबीच भएको महत्त्वपूर्ण भेटवार्तामा पुटिनले पश्चिम एसियामा शान्ति स्थापनाका लागि रूसले हरसम्भव कदम चाल्ने आश्वासन दिएका छन्।
रूसी सरकारी समाचार संस्था 'तास' का अनुसार भेटका क्रममा राष्ट्रपति पुटिनले इरानी जनताको सार्वभौमिकता रक्षाका लागि देखाइएको बहादुरीको प्रशंसा गरे। उनले मध्यपूर्वको स्थिरताका लागि रूसले इरान र यस क्षेत्रका अन्य देशहरूको हितमा रहेर सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
इरानी विदेशमन्त्री अराघचीले परिस्थिति जस्तोसुकै चुनौतीपूर्ण भए पनि इरान र रूसबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए। उनले दुई देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको उच्चतम तहमा पुगेको उल्लेख गर्दै वर्तमान युद्ध, क्षेत्रीय तनाव वा अन्तर्राष्ट्रिय दबाबले यो निकटतालाई कम गर्न नसक्ने सङ्केत गरे। रूस र इरानले ऊर्जा, रक्षा र क्षेत्रीय मामिलामा सहकार्य बढाउँदै लगेका छन् र गत वर्ष मात्र उनीहरूले दीर्घकालीन रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका थिए।
यसैबीच इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण थप कडा बनाउने सङ्केत दिएको छ। इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले सशस्त्र बलले जलडमरूमध्यमा नियन्त्रण कायम गरिसकेको र शत्रु पक्षका जहाजहरूलाई रोक्ने प्रयास भइरहेको बताएका छन्। उनले प्रस्तावित नयाँ कानुनअनुसार उक्त जलमार्ग प्रयोग गरेबापत प्राप्त हुने आम्दानी इरानी मुद्रा (रियल) मा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिने समेत जानकारी दिएका छन्।