जो विद्यालयको लापरवाहीले कक्षा १२ को परीक्षा दिनबाट भए वञ्चित
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
219
Shares
जाजरकोट। कक्षा १२ को राष्ट्रिय परीक्षाबाट जाजरकोटका विद्यार्थी वञ्चित हुनुको पछाडि विद्यालयकाे चरम लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य रहेको पाइएको छ ।
कुशे गाउँपालिका-२, टालेगाउँस्थित श्री मान्नेढुंगा माध्यमिक विद्यालयले केही विद्यार्थीको परीक्षा आवेदन फारमसँगै कागजात नै राष्ट्रिय परीक्षा बोर्डमा नपठाएको पुष्टि भएको छ ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार विद्यालयले शुरूमा एक सय ३६ जना विद्यार्थीको नाम अनलाइनमा दर्ता गरे पनि पछि एक सय १९ जनाको मात्र राजस्व संकलन गरी आवश्यक कागजात बोर्डमा पठाएको देखिएको छ ।
ती विद्यार्थीहरूको मात्र प्रवेशपत्र आएर परीक्षा दिइरहेका छन् भने बाँकी विद्यार्थीहरू कागजात नपठाइएकै कारण परीक्षा दिनबाट वञ्चित भएका छन् ।
अझ गम्भीर कुरा के छ भने, अघिल्लो वर्ष नै कक्षा १२ उत्तीर्ण गरिसकेका एक विद्यार्थीको समेत फारम भरेर बोर्डमा पठाइएको भेटिएको छ।
प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी नरेशकुमार भट्टराईका अनुसार उक्त त्रुटि भेटिएपछि ती विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
विद्यालयले विद्यार्थीहरूले कागजात नबुझाएको भन्दै पत्र पठाएको उनले बताए ।
तर पीडित विद्यार्थीहरू अनुसार परीक्षा आवेदन फारम खुलेको केही दिनमै सबै प्रक्रिया पूरागरी विद्यालयका कर्मचारी घनश्याम सिंहलाई बुझाइएको थियो ।
‘फारम छुट्न नदिन भनेर हामीले पटकपटक प्रधानाध्यापक सुरेन्द्रबहादुर सिंहलाई समेत आग्रह गरेका थियौँ,’ एक विद्यार्थीले भने, ‘तर अन्तिममा हाम्रो फारमसँगै कागजात नै पठाइएन छ। यदि फारमसँग कागजात थिएनन् भने विद्यालयले हामीलाई जानकारी गराउनुपर्थो । एकचोटी पनि उक्त कुरा भनिएन र कागजातसमेत फारमसँगै बुझाएको भनिएको छ ।’
विद्यार्थीहरूले प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले राजस्व बुझाएको दाबी गर्दै बिलसमेत नदिएको गुनासो गरेका छन् ।
‘हामीले सबै प्रक्रिया पूरा गर्दा पनि परीक्षा दिनबाट वञ्चित हुनुपर्यो, यो सरासर अन्याय हो,’ उनीहरूले भने ।
स्थानीय बासिन्दा तथा अभिभावकहरूले विद्यालय प्रशासनको लापरवाहीले विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष खेलवाड भएको आरोप लगाएका छन् ।
उनीहरूले दोषीमाथि कडा कारवाही गर्न र पीडित विद्यार्थीलाई न्याय दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
परीक्षा जस्तो संवेदनशील विषयमा यस्तो चरम लापर्वाही हुनु गम्भीर प्रश्नको विषय बनेको छ । सम्बन्धित निकायहरू मौन बसेको अवस्थामा निर्दोष विद्यार्थीले वर्षदिनको मेहनत गुमाउनुपरेको छ, जसले शिक्षा प्रणालीकै विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर सिंहले भने यसअघि नै केही कागजात छुटेका कारण केही विद्यार्थीको प्रवेशपत्र नआएको हुन् सक्ने बताएका थिए ।
देशभर आजबाट कक्षा १२ को परीक्षा शुरू भएको छ भने यसबर्ष देशभरबाट कक्षा १२ को परीक्षामा चार लाख १८ हजार आठ जना परीक्षार्थी सहभागी छन् ।