त्रियासी प्रतिशत मध्यम वर्गलाई उपेक्षा गरेर अबको राजनीति सफल हुँदैन: सुरेन्द्र पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
1.5k
Shares
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको बदलिँदो सामाजिक संरचना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर मात्रै अबको राजनीति सफल हुने बताए। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘मदन भण्डारी, सामाजिक एकता र राष्ट्र निर्माण’ विषयक विचार गोष्ठीमा बोल्दै पाण्डेले पुरानो शैलीको राजनीतिले आजको आवश्यकता पूरा गर्न नसक्ने तर्क गरे।
नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै उनले केवल १७ प्रतिशतको मात्र कुरा गरेर र ८३ प्रतिशत डोमिनेन्ट मध्यम वर्गलाई उपेक्षा गरेर अब कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा गरे।
जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता चर्चा गर्दै पाण्डेले मदन भण्डारीले जहिले पनि शास्त्रभन्दा जीवन्त यथार्थलाई महत्त्व दिएको स्मरण गरे। पार्टीहरूले हिजोको भूमिगतकालीन मानसिकता र नियन्त्रणमुखी शैली नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने उनले चेतावनी दिए।
पाण्डेले २००६ सालमा पार्टी स्थापना हुँदा ९० प्रतिशतभन्दा बढी मानिस गरिब रहेको तर आज परिस्थिति फेरिएको उल्लेख गरे। अहिले १७.४ प्रतिशत मात्र गरिबीको रेखामुनि रहेको र ८३ प्रतिशत जनसङ्ख्या मध्यम वर्गमा उक्लिएको जानकारी दिँदै उनले किताब र यान्त्रिक कुराभन्दा वास्तविक जीवनबाट समाधान खोज्नुपर्नेमा जोड दिए।
उनले मदन भण्डारीले विश्वभर कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला जीवन्त तथ्यहरूबाट निष्कर्ष निकालेर नेपाली क्रान्तिलाई नयाँ उचाई दिएको चर्चा गरे। नेता पाण्डेले अबको राष्ट्रियता ‘आर्थिक राष्ट्रियता’ हुनुपर्ने धारणा समेत राखे।