arrow

खोप लगाउन छुटेका बालबालिकाका लागि वैशाखभर 'खोज र खोप' अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
vaccine-child-82-1-19.jpg

काठमाडौँ । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गर्दै वैशाख महिनाभर 'खोज र खोप' अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाका अनुसार यो अभियानमार्फत १५ महिनामा लगाउनुपर्ने नियमित खोप छुटेका बालबालिकालाई समेटिने छ।

यस अभियानअन्तर्गत बालबालिकाहरूलाई १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप दिइनेछ। सरकारले गत मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरिसकेको छ। तथ्याङ्कअनुसार नेपालमा हाल ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रामा खोप लगाएका छन् भने १० प्रतिशतले सबै खोप लगाएका छैनन्। यस्तै, एक प्रतिशत बालबालिकाले अहिलेसम्म कुनै पनि खोप नलगाएको पाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार खोप कार्यक्रमकै प्रभावकारिताका कारण नेपालमा बालबालिकाको मृत्युदरमा उल्लेख्य सुधार आएको छ। सन् १९९६ मा प्रतिहजार जीवित जन्ममा ११८ रहेको पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् २०२३ सम्म आइपुग्दा २६.५ प्रतिहजारमा झरेको छ।

केही जिल्लाहरूमा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दा दादुरा-रुबेलाको महामारी पुनः देखापर्न थालेपछि मन्त्रालयले यो अभियानलाई विशेष प्राथमिकता दिएको हो। बालबालिकालाई रोग, अपाङ्गता र अकाल मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगि खोप लगाउन सरकारले आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ