arrow

रसुवागढी नाकाबाट नौ महिनामा ३१ अर्बको आयात

छ अर्ब ४२ करोड राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
raswagadi-.JPG

काठमाडौँ । नेपाल र चीनबीचको व्यापारिक नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका सामग्री भित्रिएका छन्। रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार आयातित वस्तुको मूल्याङ्कनबाट यस अवधिमा रु ६ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ। भौगोलिक विकटता र प्राकृतिक अवरोधका बाबजुद पनि यस नाकाबाट व्यापारिक गतिविधि निरन्तर भइरहेका छन्।

नाकाबाट मुख्य गरी विद्युतीय गाडी, तयारी पोसाक, रोलकपडा, स्याउ, लसुन र जलविद्युत् आयोजनाका मेसिनरी सामग्रीहरू आयात हुने गरेका छन्। साथै नेपाली सेनाले निर्माण गरिरहेको ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरणहरू पनि यही नाकाबाट भित्रिएका छन्। अर्कोतर्फ, नेपालबाट चीनतर्फ भने हस्तकलाका सामग्री, बाँसका मुढा, चाउचाउ, बिस्कुट र तिब्बतमा चौँरीलाई खुवाइने सुक्खा घाँस गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन्।

गत असारमा ल्हेन्देखोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि लामो समय व्यापार ठप्प भएको थियो। पुल पुनःनिर्माणमा ढिलाइ हुँदा गत पुस १७ गतेदेखि मात्रै व्यापारिक आवतजावत पुनः सुरु भएको भन्सार कार्यालयले जनाएको छ। रसुवागढी क्षेत्रमा बारम्बार जाने पहिरो र सडक स्तरोन्नतिका कार्यले पनि व्यापार प्रभावित हुने गरेको छ। व्यवसायीहरूले सडक मर्मत र व्यापारलाई समय तालिका मिलाएर सँगसँगै लैजान माग गरेका छन्।

भन्सार कार्यालयका कर्मचारीहरू आधुनिक गोदाम र सुरक्षित भवनको अभावमा धुलो र चिसो हावाबीच बालुवा खोलाको किनारमा बसेर जाँचपास गर्न बाध्य छन्। हिमाली क्षेत्रको कठोर मौसममा काम गर्नुपर्ने भएकाले कार्यस्थलको सुधार र न्यूनतम भौतिक पूर्वाधारको व्यवस्था गर्न कर्मचारीहरूले सरकारसँग माग गरेका छन्।

ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पोको पालादेखि नै चल्दै आएको यो व्यापारिक मार्ग विसं २०७२ मङ्सिर १५ देखि चीन सरकारबाट पूर्ण मान्यता पाएपछि थप सक्रिय भएको हो। गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङका अनुसार छोटो दूरी र सहज पहुँचका कारण यो नाका व्यवसायीहरूको पहिलो रोजाइमा परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ