तस्बिर – नेपाल फोटो लाइब्रेरी, नेपाल न्यूज एजेन्सी, नेपाल न्यूज बैंक ।
काठमाडौँ । बालेन सरकारले काठमाडौँ उपत्यकामा अतिक्रमण गरेर बसेको सुकुमवासी बस्तीलाई हटाउन डोजर चलाएको छ । थापाथलीमा नेपाल प्रहरी र महानगरीय प्रहरीको बाक्लो उपस्थितिबीच डोजर चलाइएको हो । बिहान ६ बजेदेखि डोजर चलाउने भनिए पनि दुई घण्टा ढिला गरी डोजर पुगेको हो ।
डोजर चल्ने निश्चित भएसँगै धमाधम आफैँले सुकुमवासी बस्तीमा बसेकाहरूले आफ्ना सामान सुरक्षित स्थानमा लिएर गएका छन् । प्रहरीको बाक्लो उपस्थितिबीच उनीहरूले सामान हटाइरहेका हुन् । प्रहरीले पनि सामान निकाल्न मद्धत गरेको छ ।
बिहानै थापाथलीका सुकुमवासी बस्तीमा बसेकाहरूले बस्ती खाली गरिरहेका छन् । सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझदेखि माइकिङ गरिरहेको थियो । सुकुमवासीहरूलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको थियो ।
बागमती किनारका थापाथली, सिनामंगल, टेकु, बल्खुलगायत क्षेत्रमा सुकुमवासी बस्ती छ।
यता कुनै अप्रिय घटना नहोस् भनेर नेपाल प्रहरी सचेत बनेको छ । प्रहरीले सुकुमवासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नदी किनार तथा सार्वजनिकस्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ ।
सुकुमवासी/भूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका लागि सुकुमवासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागिएको प्रहरीले जनाएको छ ।
वास्तविक सुकुमवासी/भूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ उक्त अभियान शुरू हुन लागेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।
सो सम्बन्धी समस्या समाधान नहुँदा वास्तविक सुकुमवासी/भूमिहीन राज्यबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित हुनुपरेको जनाउँदै प्रहरीले आफ्नो हक, अधिकार मिच्ने नक्कली सुकुमवासी/भूमिहीन व्यक्तिहरूको पहिचान गरेर सहयोग गर्न आग्रह गरेको छ ।
“वास्तविक सुकुमवासी/भूमिहीनहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमा सही सूचना दिई सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौँ”, प्रहरी प्रधान कार्यालयद्वारा आज जारी अपीलमा उल्लेख छ ।