‘पुराना दलहरूले जसरी सुकुमवासी भूमिहीनहरूलाई भोटर बैंक बनाए, यो सरकारले पनि पुरानै दलहरूको संस्कार अवलम्बन गरिरहेको देखियो'
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
482
Shares
काठमाडौँ। सुकुमवासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुमवासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार राष्ट्रिय जेन-जी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरू बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् ।
उनीहरुले ‘सुकुमवासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यही हो र ?’ ‘सहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।’
प्रदर्शनमा पुगेकी एक जेन-जी युवतीले सरकारले सुकुमबासीहरूलाई डोजरको आतङ्क देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुमवासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण रहेको बताइन् ।
संविधानले नागरिकको आवासको हकको सुनिश्चित गरे पनि सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको उनको भनाइ थियो ।
प्रदर्शनमा पुगेकी एक युवतीले भनिन्, ‘पुराना दलहरूले जसरी सुकुमवासी भूमिहीनहरूलाई भोटर बैंक बनाए । त्यसैगरी यो सरकारले पनि पुरानै दलहरूको संस्कार अवलम्बन गरिरहेको देखियो। सरकारले भूमिहीन सुकुमबासीहरूलाई डोजरको आतङ्क देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुमवासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण छ । मानव अधिकारको पनि उल्लङ्घन गरेको छ । संविधानले हरेक नागरिकको आवासको हकको सुनिश्चित गरेको छ । सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ । त्यसैले यो सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको छ ।’
तर सुकुमवासी बस्तीका अधिकांश केवल भोटर बैंक भएको र वास्तविक सुकुमवासी नभएकोतर्फ भने सरकार चनाखो हुन जरुरी छ ।
स्थानीयहरूले सुकुमवासी बस्तीमा हुकुमवासीको प्रदर्शन भएकोसमेत बताइरहेका छन् ।