arrow

साहसी आरोही कामी शेर्पाको ‘सगरमाथामा ६ पाइला’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
kami-sherma.jpg

काठमाडौँ ।  आरोही कामी शेर्पाको सङ्घर्ष र हिमाल आरोहणका अनुभवहरूलाई समेटेर तयार पारिएको कृति ‘सगरमाथामा ६ पाइला’ नेपाली पर्वतारोहण साहित्यको एक महत्त्वपूर्ण दस्तावेजका रूपमा सार्वजनिक भएको छ। साहसी र कर्मठ शेर्पा समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट चिनाउने यस पुस्तकले हिमाल आरोहणका क्रममा भोगिने जोखिम, मानवीय धैर्य र साहसको जीवन्त चित्र प्रस्तुत गरेको छ। 

छ पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका आरोही शेर्पा स्वयं सञ्चारकर्मी समेत भएकाले उनले आफ्ना भोगाइहरूलाई सरल तर प्रभावकारी शैलीमा लिपिबद्ध गरेका छन्। पुस्तकले सफलता एकैपटक नभई निरन्तर प्रयास, अनुशासन र साना निर्णायक कदमहरूबाट प्राप्त हुन्छ भन्ने प्रेरणादायी सन्देश प्रवाह गर्दछ।

यस कृतिमा विशेषगरी २०६९ सालमा एकै सिजनमा आठ दिनको अन्तरमा तीन पटक सगरमाथा आरोहण गरी कायम गरिएको विश्व कीर्तिमान र त्यस दौरानका रोचक तथा चुनौतीपूर्ण क्षणहरू समावेश गरिएका छन्। २३ वर्षको कलिलो उमेरदेखि नै हिमालसँग नाता गाँसेका शेर्पाले आरोहणका क्रममा भोग्नुपरेको अत्यधिक चिसो, अक्सिजनको अभाव र मृत्युको नजिक पुग्दाको अनुभूतिलाई पाठकले महसुस गर्न सक्ने गरी चित्रण गरेका छन्। 

पुस्तक केवल व्यक्तिगत सफलताको कथा मात्र नभई उच्च हिमाली भेगका ‘अदृश्य नायक’ शेर्पाहरूको सङ्घर्ष र योगदानलाई सम्मान गर्ने एक ऐतिहासिक अभिलेख पनि हो। नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यस कृतिले स्वदेशी तथा विदेशी पाठकलाई नेपालको हिमाल र पर्यटनको वास्तविक अवस्था बुझ्न मद्दत पुर्‍याउने देखिन्छ।

पर्यटन र पर्यावरणप्रति समेत सचेत लेखकले युवा पुस्तालाई आफ्नो तागत र सपनाको सही सदुपयोग गर्न प्रेरित गर्ने उद्देश्यले यो पुस्तक ल्याएका हुन्। सोलुखुम्बुको केरुङ स्थायी घर भएका शेर्पाले आफ्नो इतिहास र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु नैतिक कर्तव्य भएको बोधका साथ संस्मरणहरू सङ्ग्रह गरेका छन्। 

२० वटा विभिन्न शीर्षकमा समेटिएको यस पुस्तकको सम्पादन युवराज नयाँघरेले गरेका हुन्। राजधानीमा हालै आयोजित एक विशेष समारोहका बीच विमोचित यस कृतिले छोटो समयमै पाठकहरूको मन जित्न सफल हुनुका साथै नेपाली पर्वतारोहण साहित्यको विकासमा एउटा महत्त्वपूर्ण इँटा थपेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ