बालेनको अभियानलाई सुनिताले पूरा गर्दै, सुकुमवासी बस्तीमा डोजर चलाउँदै [तस्बिर]
रास्वपा सभापतिको भनाइ विपरीतको बालेनको काम गराइ वा मिलिभगत ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
1.6k
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौँ महानगरपालिकाका पूर्व मेयर वालेन्द्र साह बालेनको अभियानलाई हालकी कार्यवाहक मेयर सुनिता डंगोलले पूरा गर्ने भएकी छिन् । बालेनले सुकुमवासी बस्ती अभियान थाले पनि अपुरो रहँदा सुनिताले त्यसलाई पूरा गर्न लागेकी हुन् । बालेनले बस्ती खाली गराउन खोज्दा अवरोध आएको थियो ।
त्यतिबेला बालेन केवल मेयरमात्र थिए । स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका थिए । अहिले बालेन प्रधानमन्त्री छन् । उनले महानगरकी कार्यवाहक मेयर सुनिता (एमालेबाट निर्वाचित) को साथ पाएका हुन् ।
काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा महानगर प्रहरीले डोजर चलाउने भएको हो । शनिबार बिहान ६ बजेदेखि डोजर चलाउने भन्दै महानगर प्रहरीले बिहीबार साँझ नै सुकुमबासी बस्तीमा माइकिङ गरेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित महानगर प्रहरीले थापाथली सुकुमवासी बस्तीमा वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै बस्ती खाली गरेर सघाउन माइकिङ गरेको हो ।
पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुम्वासी बस्ती हटाइने भएको छ । बाँकी सकुम्वासी बस्ती दोस्रो चरणमा हटाइनेछ ।
प्रधानमन्त्री बालेनले गत बुधबारै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।
उक्त निर्देशनको आधारमा प्रहरीले शुक्रबार बेलुकासम्म बस्ती खाली गर्न माइकिङ गरेको छ । अर्थात् शनिबार बिहानदेखि काठमाडौँलाई सुकुमवासीमुक्त अभियान शुरू गरिने छ ।
रास्वपा सभापतिको भनाइ विपरीतको बालेनको काम गराइ वा मिलिभगत
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विकल्प बिना सुकुमवासीलाई नहटाउने भन्दै आएका थिए । उनले अझै पनि खुलेर सरकारले सुकुमवासीलाई काठमाडौँबाट हटाउन लागेको भनिसकेका छैनन् ।
उनले सुकुमवासी बस्ती हटाउन थालिए आफू नै रक्षक बनेर तेर्सिने बताउँदै आएका थिए ।
तर बालेन रास्वपाका वरिष्ठ नेता हुन् । उनी रास्वपाबाटै प्रधानमन्त्री बनेका हुन् । लोकतन्त्रमा सभापतिको चल्छ । तसर्थ रविसँगको सल्लाह बिना बालेनले पक्कै पनि सुरक्षा निकायलाई निर्देशन दिएनन् होला ।
फेरि स्रोतका अनुसार बालेनले सुकुमवासी बस्ती कुनै पनि हालतमा हटाउन खोजेसँगै १७ गतेदेखि आह्वान गरिएको संसद बैठकसमेत स्थगित गरिएको छ ।
शनिबार र आइतबार गरी दुई दिनभित्र सुकुमवासी बस्ती हटाउन लागिएको र त्यसबाट पर्ने असरलाई मध्यनजर गर्दै सरकारले अधिवेशन नै स्थगित गरेको आंकलनसमेत भइरहेको छ । केही अध्यादेशको तयारीका लागिसमेत संसद अधिवेशन स्थगित गरिएकोसमेत आँकलन गरिएको छ ।
सरकारले संसद अधिवेशन बोलाएर फेरि तुरुन्तै स्थगित गर्नुले संसदको मर्यादा उल्लंघनसमेत भनिरहेका छन् । सरकारले जवाफ दिइरहेको छैन । बजेट अधिवेशनको तयारी नपुगेर स्थगित गरिएको भनिएको छ ।
बालेनले अहिलेसम्म राष्ट्रका नाममासमेत सम्बोधन नगर्दा यसै त अन्योल छ । अर्कातर्फ सरकारले जुनसुकै कदम चाल्दा जानकारीसमेत दिँदैन भने यसको गति लयमा गएको छैन भन्ने स्पष्ट हुन्छ ।