हर्मुजमा बारुदी सुरुङ बिच्छ्याउने जहाजमाथि आक्रमण गर्न ट्रम्पको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
653
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक महत्त्वको हर्मुज जलमार्ग 'स्ट्रेट अफ हर्मुज' मा बारुदी सुरुङ (माइन) राख्ने प्रयास गर्ने कुनै पनि जहाज वा डुङ्गामाथि आक्रमण गर्न अमेरिकी नौसेनालाई स्पष्ट निर्देशन दिएका छन्।
बिहीबार आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत राष्ट्रपति ट्रम्पले भनेका छन्, "मैले संयुक्त राज्य अमेरिकाको नौसेनालाई स्ट्रेट अफ हर्मुजको जलमार्गमा बारुदी सुरुङ बिच्छ्याइरहेका कुनै पनि साना वा ठूला डुङ्गामाथि आक्रमण गर्न आदेश दिएको छु।" उनले अब यस विषयमा कुनै हिचकिचाहट नहुने र अमेरिकी 'माइन स्वीपर' टोलीले हाल हर्मुज क्षेत्र सफा गरिरहेको समेत जानकारी दिए।
यता इरानले भने ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै आफ्नो अडान दोहोर्याएको छ। अमेरिकाले इरानी बन्दरगाहमा गरेको नाकाबन्दी नहटाएसम्म सिमित स्वीकृत जहाजबाहेक अन्यका लागि यो रणनीतिक जलमार्ग बन्द रहने इरानको प्रतिबद्धता छ।
यस तनावले विश्व अर्थतन्त्रलाई ठूलो धक्का दिइरहेको छ। इस्लामावादमा तय भएको शान्ति वार्तामा इरानले आफ्नो सहभागिता सुनिश्चित नगर्दा वार्ता प्रक्रिया नै रोकिएको छ।
राष्ट्रपति ट्रम्पले इरानको नेतृत्वमाथि व्यङ्ग्य गर्दै भनेका छन्, "इरानलाई उनीहरूको नेता को हो भनेर पत्ता लगाउनै गाह्रो भइरहेको छ!" उनले हर्मुज जलमार्गमाथि अहिले अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै इरानले शान्ति सम्झौतामा हस्ताक्षर नगरेसम्म यो मार्ग नखोलिने स्पष्ट पारेका छन्।
विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्तै संवेदनशील मानिने यो जलमार्गमा देखिएको सैन्य तनावले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य र आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ।