arrow

नेपाली फुटबलको संकट समाधानका लागि एन्फा र राखेपबीच वार्ता, वेशाख २१ सम्मको समयसीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
rakhepa.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच नेपाली फुटबलमा देखिएको पछिल्लो संकट समाधानका लागि औपचारिक छलफल शुरू भएको छ। एन्फाका महासचिव किरण राईले बिहीबार राखेप पदाधिकारीहरूलाई भेटेर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गरे।

फिफाले आगामी वेशाख २१ सम्मको समयसीमा तोक्दै नेपाली फुटबलमा देखिएको हस्तक्षेपको अवस्था अन्त्य गर्न निर्देशन दिएको छ। यसअघि राखेप, फिफा, एएफसी र एन्फाबीच भएको भर्चुअल छलफलपछि यो पत्र आएको हो। महासचिव राईका अनुसार वेशाख २१ सम्म निलम्बन (सस्पेन्सन) को खतरा टरेमा मात्र अन्य प्राविधिक विषयमा छलफल अघि बढ्न सक्ने फिफाको पत्रमा उल्लेख छ।

विवाद र संकटका बीच एन्फाले आगामी वैशाख १४ गते सोमबारदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ। यसलाई रणनीतिक चाल नभई फुटबलप्रतिको दायित्व भएको दाबी गर्दै राईले भने, "भोलि निकास निस्किहालेमा तयारी शून्य नहोस् भनेर हामीले प्रशिक्षण सुरु गर्न लागेका हौँ। तयारी गर्दै जाँदा कुरा मिले हामी खेल्छौँ, मिल्दै मिलेन भने त रोकिएला।"

नेपाली फुटबल अब एउटा अर्ध-व्यवसायिक उद्योगका रूपमा विकास भइसकेकाले यसमा आश्रित हजारौँ खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भविष्य संरक्षण गर्नु राज्य र संघ दुवैको जिम्मेवारी भएको उनले बताए। नेपालको खेलकुद कानुन र फिफाको विधानबीचको नीतिगत टकरावले समस्या उब्जिएको भन्दै उनले आफूहरू इमान्दारीपूर्वक निकासको खोजीमा लागेको दाबी गरे। राखेपसँगको वार्ता सकारात्मक रहेको र चाँडै दीर्घकालीन निकास निस्किनेमा उनी विश्वस्त देखिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ