शंकर पोखरेलले गरे पार्टी नेताहरूलाई एकताबद्ध हुन आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
760
Shares
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन दिन र मुलुकको भविष्य सुनिश्चित गर्न नेताहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार नेकपा स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेतृत्वको एकताबाट मात्रै पार्टी र देशको भविष्य निर्माण गर्न सकिने सत्यलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले पार्टीका कार्यकर्ता र आम जनताले एमालेका नेताहरू मिलेर अघि बढेमा मात्रै भविष्यमा आशा गर्न सकिने निष्कर्ष सुनाएको उल्लेख गरे। "अहिले कार्यकर्ता र जनताले नेतृत्वबाट एकताको अपेक्षा गरेका छन्," उनले भने, "पहिले नेताहरू एकताबद्ध हुनुहोस्, कार्यकर्ता र जनतातिर फर्कनुहोस् भन्ने सन्देश आएको छ। हामी त्यो सन्देश बोकेर पार्टीलाई नयाँ जीवन प्रदान गर्न तयार हुनुपर्दछ।"
पार्टीभित्र देखिएको अराजकता र अनुशासनहीनताप्रति कडा टिप्पणी गर्दै उनले यस्ता गतिविधि सुदृढीकरण र समृद्धिको आधार हुन नसक्ने स्पष्ट पारे। अराजकताले पार्टीलाई सबल बनाउनुको साटो सुरक्षित भविष्यलाई नै जोखिममा पार्ने भएकाले सिंगो पार्टी पंक्तिलाई अनुशासित र भविष्यमुखी बनाउनुपर्ने उनको भनाइ थियो।
महासचिव पोखरेलले एमाले नेताहरूलाई अब जनताका समस्या र उनीहरूको हितमा केन्द्रित भएर पार्टीका कामहरू अघि बढाउन निर्देशन समेत दिए। उनले जनताको विश्वास जितेर मात्रै पार्टीलाई पुनर्जीवन दिन सकिने भएकाले सबैलाई जनतातिर फर्किन आग्रह गरे।