काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा विद्यमान सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणका लागि वामपन्थी शक्तिहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने उल्लेख गरे।
“नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धि रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ,” प्रचण्डले सन्देशमा भनेका छन्। उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेको कुरामा जोड दिए।
संयोजक प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त बनाउन र समाजवादको लक्ष्य प्राप्त गर्न छरिएर रहेका वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नभएको समेत बताए। उनले स्थापना दिवसको अवसरमा सम्पूर्ण पार्टी पंक्तिलाई एकजुट भएर अघि बढ्न आह्वान गरे।